मन्त्रालयकाे संख्या घटाउने प्रदेश १ सरकारको निर्णय


 


विराटनगर, पाैष २६
नवगठित प्रदेश १ सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले मन्त्रालयकाे संख्या घटाउने निर्णय गरेकाे छ ।

सोमबार बसेको मन्त्रिपरिषदको पहिलो बैठकले मन्त्रालयको संख्या १३ वटाबाट घटाएर ९ वटा बनाउने निर्णय गरेको हाे ।

सपथग्रहण पछि विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको पहिलो बैठकले हाल रहेको १३ वटा मन्त्रालयको संख्या घटाउने निर्णय गरेको हो ।

विनाविभागीय मन्त्री भक्तिप्रसाद सिटौलाका अनुसार मन्त्रालय र मन्त्रीहरू धेरै भएको जनगुनासोलाई विचार गरेर मन्त्रालयको संख्यालाई घटाएर ९ वटामा कायम गर्न आवश्यक प्रक्रिया सुरू गर्ने निर्णय गरिएको छ ।

बैठकले प्रशासनिक सुधार गर्ने, सार्वजनिक खर्च कटौती गरी मितव्ययिता कायम गर्ने र शीतलहरबाट जनतालाई जोगाउन पूर्व तयारी गर्ने निर्णय गरेको छ ।

यस्तै सेवा प्रवाह सुधार ल्याउन प्रमुख सचिवको नेतृत्व २१ दिनभित्र प्रतिवेदन बुझाउने गरी सुधार समिति गठन गर्ने पनि निर्णय गरिएको मन्त्री सिटौलाले बताए ।

यसअघि प्रदेश १ सुरूमा ७ वटा मन्त्रालय थियो । नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीसहितको गठबन्धन बनेपछि मन्त्रालय संख्या बढाएर १३ सम्म पुर्‍याइएको थियो ।

प्रकाशित मिति: २६ पुस २०७९, मंगलबार

प्रतिक्रिया दिनुहोस्