मन्त्री पाण्डेविरुद्ध भ्रष्टाचार मुद्दामा पुनरावेदन गर्ने अख्तियारको तयारी


 


काठमाडौं, माघ ४
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा दायर मुद्दामा सफाइ पाएका ठेकेदार विक्रम पाण्डे सहरी विकास मन्त्री भएका छन् । उनले मंगलबार पद तथा गोपनीयताको सपथसँगै पदभार समालेका छन् ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पाण्डेविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । विशेष अदालतबाट पाण्डेका पक्षमा भएको फैसलाप्रति असन्तुष्ट अख्तियार पुनरावेदनमा जाने तयारी गरिरहेकै बेला ठेकेदार कम्पनीका मालिकसमेत रहेका पाण्डे सहरी विकासमन्त्री भएका हुन् ।

प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय प्रजातन्त्र पार्टीको टिकटमा चितवन निर्वाचन क्षेत्र ३ बाट निर्वाचित पाण्डे कालिका कन्स्ट्रक्सन जेभीका प्रमुख तथा ‘क’ वर्गका ठेकेदार हुन् । गत असार ६ गते विशेष अदालतले पूर्ववनमन्त्रीसमेत रहेका पाण्डेसहित २१ जनालाई भ्रष्टाचार मुद्दामा सफाइ दिएको थियो । पाण्डेसहितले सिक्टा सिँचाइ आयोजनामा मिलेमतोमा कमसल काम गरी भ्रष्टाचार गरेको दाबीसहित अख्तियारले विशेष अदालतमा मुद्दा चलाएको थियो ।

विशेषले पाण्डेसहितलाई सफाइ दिएपछि अख्तियारले सर्वोच्च अदालतमा पुनरावेदनमा जाने तयारी गरिरहेको छ। विशेष अदालतले विभिन्न खालका भ्रष्टाचार मुद्दाका आरोपितलाई सफाइ दिएपछि अख्तियारले मंगलबारसम्म १७८ वटा मुद्दामा पुनरावेदन गरिसकेको प्रवक्ता श्यामप्रसाद भण्डारीले बताए । सिक्टा सिँचाइ आयोजनामा भएको भ्रष्टाचार मुद्दासम्बन्धी फैसलाको पूर्ण पाठ नआएका कारण पुनरावेदनमा जान ढिलाइ भएको अख्तियारले जनाएको छ ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

प्रकाशित मिति: ४ माघ २०७९, बुधबार

प्रतिक्रिया दिनुहोस्