सभामुख चयनका लागि मतदान आज, सत्ता र विपक्षी गठबन्धन भिड्दै


 


काठमाडौं, माघ ५
संघीय संसद्अन्तर्गतको प्रतिनिधिसभामा आज सभामुख चयनका लागि मतदान हुँदैछ ।

सत्ता साझेदार दलहरूको समर्थनमा नेकपा एमालेका सांसद देवराज घिमिरे र नेपाली कांग्रेस तथा नेकपा एकीकृत समाजवादी लगायत दलहरूको समर्थनमा कांग्रेस सांसद ईश्वरीदेवी न्यौपानेले उम्मेदवारी दिएका छन् ।

उनीहरूबीच सभामुखका लागि बिहीबार प्रतिनिधि सभामा प्रतिस्पर्धा हुन लागेको हो । संघीय संसद सचिवालयका अनुसार बिहीबार बिहान ११ बजे बस्ने बैठकमा सभामुख चयनसम्बन्धी प्रक्रिया अघि बढ्नेछ ।

प्रतिनिधि सभा सदस्यहरूले आफूमध्येबाट सभामुख चयन गर्ने व्यवस्था छ। अहिले सभामुख नभएका बेला ज्येष्ठ सदस्य राप्रपाका सांसद पशुपतिशम्शेर जबराले सभामुखको भूमिका निर्वाह गरिरहेका छन् ।

बिहीबार प्रतिनिधि सभाबाट सभामुख र माघ ७ गते उपसभामुख चयन गर्ने तयारी छ। सभामुख पदमा मनोनयन दर्ताका लागि बुधबार दिउँसो १ बजेदेखि अपरान्ह ४ बजेसम्म दिइएको समयमा दुई जना उम्मेदवारले उम्मेदवारी दर्ता गरेका थिए ।

प्रकाशित मिति: ५ माघ २०७९, बिहिबार

प्रतिक्रिया दिनुहोस्