भारु नोट प्रतिबन्धको प्रत्यक्ष असर सीमा क्षेत्रका नेपालीहरुमा पनि


 


बैतडी, कात्तिक २७
हजार र ५ सय दरका नोटमा भारतले गरेको प्रतिबन्धको प्रत्यक्ष असर सीमा क्षेत्रका नेपाली हरुमा पनि परेको छ ।

बैतडीको झुलाघाट लगायत विभन्नि ठाउँका सीमा पारीका व्यापारीहरुले भारु नोट लिन नमानेपछि स्थानीयहरुले सास्ती खेप्नु परेको छ ।

प्रायः गरेर भारु मा नै कारोबार भइराख्ने र नेपाली रुपैयाँको कारोबार बुझाउनै गाह्रो हुने तल्लो स्वराडका आम्चोरा, कुलाऊँ, पञ्चेश्वर, महाकाली, र शर्माली गा.वि.स.का स्थानीयहरुले भारु नोटमा प्रतिबन्ध लगाउँदाको समस्या खेप्नु परेको छ ।

तिहार पछि विभिन्न मन्दिरहरुमा लाग्ने मेलाहरुलाई दसैं र तिहारको भन्दा पनि महत्त्व दिएर भारतबाट घर फर्कनेहरुले भारतीय नोटहरु ल्याउने गर्छन् ।

त्यस्तै यो पाली पनि मेलाको लागि घर पुगेपछि भारतले अचानक हजार र ५ सय दरका नोटहरुमा प्रतिबन्ध लगाएको र स्थानीय व्यापारीहरु तथा सीमा पारीका व्यापारीहरुले लिन नमानेपछि सीमा क्षेत्रका मानिसहरुमा फसाद परेको स्थानीय लोकेश तिवारीले जानकारी दिए ।

सीमा क्षेत्रमा बसोबास गर्ने सरकारी कर्मचारीहरुले पनि भारतीय बजारबाट सामान किन्न सजिलो पर्ने भएकाले आफ्नो तलब हुने वित्तिकै नेपाली नोटहरुलाई पनि भारु नोटहरुसँग साट्ने गर्छन् ।

अहिले भारतीय नोटहरुमा अचानक प्रतिबन्ध लागेपछि बैतडीका स्थानीय मेलाहरुमा व्यापार गर्नको लागि भारत कै मथुराबाट आएका व्यापारीहरुले पनि भारु नोट लिन मानिरहेका छैनन् ।

कन्चनपुरमा भने भारु नोटलाई नै कारण देखाउँदै सीमा क्षेत्रका दोधरा र चाँदनीलगायत विभिन्न ठाउँमा नुनको कृत्रिम अभाव भइरहेको खबर प्राप्त भएका छन् ।

प्रकाशित मिति: २७ कार्तिक २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्