राष्ट्रपतिले सँगै जेल बसेका साथीलाई शपथ ग्रहणमा किन बोलाए ?


 


काठमाडौं, चैत्र ३०
बागलुङका डिलप्रसाद सापकोटा (सापकोटा बाजे) आफूले सहयोग गरेको व्यक्ति राष्ट्रपतिजस्तो गरिमामय पद सम्हाल्न पुगेकामा हर्षविभोर छन् ।

“म असाध्यै खुसी छु उहाँ (राष्ट्रपति रामचन्द्र पौडेल)को राम्रो सेवा गर्न पाएकामा । जेलबाट निस्किएर सभामुख बन्नुभयो, पटकपटक मन्त्री हुनुभयो तर विगतको दुःख कहिल्यै भुल्नु भएन । मलाई फोन गरिरहनुहुन्थ्यो, घरमा पनि पटकपटक आउनुभयो”, सापकोटाले भने ।

राष्ट्रपति पौडेल तत्कालीन समय बागलुङ जेलमा बस्दा दूध पुर्याउने डिलप्रसाद सापकोटालाई पनि शपथग्रहण समारोहमा बोलाइएको थियो । घरायसी कारणले शपथ समारोहमा आउन नपाएका सापकोटाले एक साताभित्रै राष्ट्रपतिलाई भेट्ने योजना रहेको सुनाए ।

राष्ट्रपति पौडेल विसं २०४६ को जनआन्दोलनका क्रममा संगठन बनाउने क्रममा बागलुङ पुगेका थिए । संगठन गरेर फर्किने क्रममा पर्वतमा पुगेपछि पक्राउ परेका थिए । पक्राउपछि पौडेललाई बागलुङ जेलमा राखियो । त्यतिखेर बागलुङ काठेखोला गाउँपालिका–६ का सापकोटा गाउँमा दूध जम्मा गरेर सहरमा लगेर बिक्री गर्ने काम गर्थे । सोही क्रममा पौडेलसँग भेटघाट र चिनाजानी भएको थियो ।

सहयोग गरेको व्यक्ति राष्ट्रपति बने पनि सापकोटालाई व्यक्तिगत लाभका लागि कुनै अपेक्षा छैन । “सिर्फ संस्थाको गरिमालाई कायम राखी जनताको विश्वास र भरोसालाई कायम राखेर पदीय जिम्मेवारी पूरा गरिदिए पुग्छ”, उनले भने ।

बागलुङ कांग्रेसमा आबद्ध ६३ वर्षीया सापकोटा अहिले पनि सामान्य खेती किसानी गर्छन् । उनले भने, “पौडेल जेल बस्दा दुःख लगेर खुवाउँथे । गाउँबाट मकै भटमास भुटेर लैजान्थेँ, साथमा पत्रपत्रिका पनि किनेर लगिदिन्थेँ ।”

“हाम्रो आन्दोलन सफल हुन्छ, हामी सफल भएरै निस्कन्छौँ भन्नुहुन्थ्यो”, पौडेललाई जेलमा भेट्दाको अनुभव सुनाउँदै सापकोटाले भने ।

बागलुङ काठेखोला–५ का रघुपति शर्मा राष्ट्रपति पौडेलसँगै जेल बसेका थिए । उनलाई पनि राष्ट्रपतिको शपथमा काठमाडौं बोलाइएको थियो । तर कारणवश आउन पाएनन् । “राष्ट्रपति पौडेलसँग जिल्ला प्रहरी कार्यालयको कारागार र बागलुङ कारागारमा गरी ९९ रातसँगै बसेको थिएँ । उहाँलाई नजिकबाट चिनेको छु, सबैलाई राम्रो व्यवहार गर्ने सरल र सादगी व्यक्तित्व हुनुहुन्थ्यो”, शर्माले भने ।

शर्माका अनुसार संघसंस्था ऐन, २०१७ अनुसार तत्कालीन समयमा पौडेलसहित संगठनमा सक्रिय १० जनालाई जेल पठाइएको थियो । पौडेल जेलमा रहँदा बिहान सबैरे उठ्ने, किताब लेख्नुका साथै देश, लोकतन्त्र र मानव अधिकारका विषयमा जेलमै कक्षा सञ्चालन गर्थे । उनले भने, “पौडेल पढेलेखेको मान्छे हामीलाई जेलभित्रै कक्षा दिनुहुन्थ्यो, असाध्यै शालीन र सरल व्यक्ति हुनुहुन्थ्यो ।”

शर्माले राष्ट्रपति पौडेलको कार्यकालमा देशमा राजनीतिक स्थायित्व कायम भई जनताभित्र पलाएको निराशालाई आशामा बदलेर देशको स्वतन्त्र अभिभावक बन्ने विश्वास व्यक्त गरे । पौडेलसँगै जेल पर्दा शर्मा तत्कालीन समयमा नेपाल विद्यार्थी संघ बागलुङको सचिव थिए ।

शपथ समारोहमा बोलाइएका गोविन्द कँडेल पौडेलसँगै जेलमा बसेका थिए । जेल जीवन बिताउँदाको साथी राष्ट्रपति बनेपछि शीतल निवास पुगेर बधाई दिएर खुसी साटे । लामो राजनीतिक जीवन संघर्षमा सादगी र सरल राजनीतिज्ञको छवि बनाएका पौडेल मुलुकको तेस्रो राष्ट्रपति बनेका हुन् ।

राष्ट्रपति पौडेलले आफूसँग जेल जीवन बिताएका व्यक्तिलाई हिजो शपथग्रहण समारोहमा बोलाएका थिए । पञ्चायती शासन व्यवस्थामा जेल पर्दा आफूसँगै रहेका व्यक्तिलाई राष्ट्रपति भवन शीतल निवासमा शपथग्रहण समारोहमा अतिथिका रूपमा बोलाउनुभएको हो । इन्दु शर्मा, गोविन्द कँडेल, रघुपति शर्मालाई शपथ ग्रहणमा आमन्त्रण गरिएको थियो ।

राष्ट्रपति पौडेलले हिजो शीतलनिवासमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए । पौडेल यही फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित भएका थिए । रासस

प्रकाशित मिति: ३० फाल्गुन २०७९, मंगलबार

प्रतिक्रिया दिनुहोस्