‘उपराष्ट्रपति’मा गठबन्धनमा दुई धार, आसैआसमा एमाले



काठमाडौं, चैत्र १
उपराष्ट्रपति पदका लागि आधिकारिक उम्मेदवारका विषयलाई लिएर सत्तारूढ गठबन्धन विभाजित बनेको छ । राष्ट्रपति पदमा रामचन्द्र पौडेललाई मतदान गर्न एक भएका गठबन्धन आबद्ध दलहरू उपराष्ट्रपति पदमा भने विभाजित बनेका हुन् ।

गठबन्धनमा आबद्ध मुख्य चार दलले जनता समाजवादी पार्टीबाट उम्मेदवार बनेका रामसहाय यादवलाई समर्थन गर्ने तयारी गरेका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाले यादवका पक्षमा मतदान गर्नेगरी आन्तरिक तयारी गर्ने र सोहीअनुसार पार्टीका सांसदलाई सर्कुलर गर्नेगरी रणनीति बनाएका हुन् ।

यस्तै, गठबन्धन आबद्ध दलहरू लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीले जनमत पार्टीबाट उम्मेदवार बनेकी ममता झालाई समर्थन गर्ने निर्णय गरिसकेका छन् ।

राष्ट्रिय जनमोर्चाले उपराष्ट्रपति पदमा कसलाई सघाउने निर्णय गरेको छैन भने राष्ट्रपतिमा पौडेलका पक्षमा उभिएको अर्को दल राष्ट्रिय स्वतन्त्र पार्टी पनि गठबन्धनमा आबद्ध दलका उम्मेदवारलाई मत दिने पक्षमा छैन ।

कांग्रेसले यादवका पक्षमा आधिकारिक निर्णय गर्न आज ११ बजे कार्यसम्पादन समिति बैठक नै डाकेको छ । कार्यसम्पादन समितिको बैठकमार्फत जसपाबाट उपराष्ट्रपति पदका उम्मेदवार बनेका यादवका पक्षमा निर्णय हुने कांग्रेसका एक पदाधिकारीले जानकारी दिए । राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News