स्ववियु निर्वाचन : आज रातिदेखि प्रचार–प्रसार रोक



काठमाडौं, चैत्र ३
त्रिभुवन विश्वविद्यालय (त्रिवि)का क्याम्पसमा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा रातिदेखि मौन अवधि सुरु हुने भएको छ । स्ववियु निर्वाचन आचारसंहिताअनुसार गएराति १२ बजेदेखि मौन अवधि सुरु भएको हो ।

त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले उम्मेदवारले राति १२ बजेदेखि स्ववियु चुनावको प्रचार–प्रसार गर्न नपाउने बताए ।

उनले निर्वाचन हुनुभन्दा ४८ घण्टा अगाडि प्रचार–प्रसार बन्द गरिएको जानकारी दिए । आज रातिदेखि आचारसंहिता लाग्ने भएपछि आज सम्बन्धित क्याम्पसले उम्मेदवारको प्रचार–प्रसारका लागि एउटा कार्यक्रम गरी परिचयात्मक कार्यक्रम राखेका थिए ।

यही चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि पाँच दिनको लागि मात्र प्रचार–प्रसारको समय छुट्याइएको थियो । निर्वाचनका लागि यही फागुन २७ गते उम्मेदवार मनोनयनपत्र दर्ता गरिएको थियो ।

स्ववियु निर्वाचन आचारसंहितामा प्रचार–प्रसार गर्न रङरोगन र कुनै पनि प्रकारको पोष्टर टाँस्न नपाइने तथा निर्वाचनसम्बन्धी कुनै पनि तुल, फ्लेक्स र कुनै प्रकारको पोष्टर टाँस्न नपाइने उल्लेख गरिएको छ ।

उम्मेदवारले आफ्नो निर्वाचन घोषणापत्र र उम्मेदवारको नामावलीको एफोर साइजको एकै रङ भएको पर्चामात्र प्रचार–प्रसार गर्न पाइने आचारसंहितामा उल्लेख गरिएको छ ।

अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली र उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन् । स्ववियु निर्वाचनका लागि ६२ आङ्गिक र एक हजार ४० क्याम्पसमा एकै साथ यही चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म मतदान हुने छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News