भारतले नेपालमा रहेका भारु सटहीको व्यवस्था मिलाएन


 


indian rupeiya

काठमाडौं,कात्तिक ३०

नेपालमा रहेको भारु पाँच सय र १ हजार दरका नोटहरु कागजमा परिणत हुने भएका छन् ।

नेपालमा रहेका भारतीय नोटहरुलाई रिजर्भ बैंक अफ इन्डिया (आरबिआई) ले सटही सुविधा दिन अस्वीकार गरेपछि भारु ५ सय र १ हजार दरका नोटहरु कागजको खोष्टामा परिणत हुने तथा कामै नलाग्ने हुने भएका छन् ।

भारतले ५ सय र हजार दरका नोटमा प्रतिबन्ध लगाएपछि नेपाल राष्ट्र बैंकले नेपालमा भएका ती दरका नोट साट्ने व्यवस्था गर्न आरबिआईलाई पत्राचार गरेको थियो ।

जवाफमा आरबिआईले सटही सुविधा दिने अधिकार आफूसँग नभएको बताएको छ ।

राष्ट्र बैंकका एक उच्च अधिकारीका अनुसार आरबिआईले राष्ट्र बैंकको पत्रको जवाफ दिंदै नेपालसँग रहेको भारुको सटही सुविधा दिने नदिने निर्णय भारत सरकारको हातमा मात्र रहेको बताएको छ ।

‘राष्ट्र बैंकको पक्षबाट भारु सटही गर्न सकिने अवस्था देखिएन,’ बैंकका ती उच्च अधिकारीले भने, ‘हामीले सकेसम्म प्रयास गरेका हौं, तर कुनै प्रगति हुन सकेन । यो विषयमा अब दुवै देशका प्रधानमन्त्रीबीच वार्ता हुन सके मात्र समस्या समाधान होला ।’

ती अधिकारीले नेपालमा रहेका पाँच सय र हजार दरका भारु साट्ने सुविधा दिए भारतबाट अवैध भारु नेपालभित्रिने डर भारत सरकारको रहेको बताए । ‘भारतको नोटमा उसैको अधिकार हुन्छ,’ ती अधिकारीले भने, ‘नेपाल सरकार र राष्ट्र बैंकले पहलसम्म गर्न सक्छन्, तर उसले नसाटे त्यतिबेला केही गर्न सकिँदैन ।’

उनले दुवै देशका प्रधानमन्त्रीबीच आपसी वार्ता नभएसम्म नेपालमा रहेको १० औं अर्ब रुपैयाँ बराबरको पाँच सय र हजार दरका भारुको भविष्य अन्योलमै रहेको बताए ।

परराष्ट्रमन्त्री प्रकाशशरण महतले पनि नेपालीसँग रहेको पाँच सय र हजार दरको भारु सटही गराउन सक्ने विश्वास दिलाउन सकेनन् ।

अहिले बंैकिङ प्रणालीमा पाँच र हजार दरका गरेर साढे तीन करोड भारु छ । उद्योगी व्यवसायी र सर्वसाधारणसँग गरेर १० अर्ब रुपैयाँभन्दा बढी यस्ता नोट रहेको अनुमान छ ।

प्रकाशित मिति: ३० कार्तिक २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्