देशकै उत्कृष्ट बन्यो जिल्ला अस्पताल बैतडी


 


काठमाडौं, वैशाख ३१ । जिल्ला अस्पताल बैतडी देशकै उत्कृष्ट अस्पताल बनेको छ। स्वास्थ्य मन्त्रालयले न्यूनतम सेवा मापदण्ड कार्यान्वयन सम्बन्धमा अनुगमन तथा मूल्याङ्कन गर्दा ९५ प्रतिशत अङ्कसहित देशकै उत्कृष्ट अस्पताल बनेको हो।

यही वैशाख ३० र ३१ गते क्षेत्रीय स्वास्थ्य निर्देशनालय र निक साइमन इन्स्टिच्युट (एनएसआई)ले जिल्ला अस्पताल बैतडीको अनुगमन तथा मूल्याङ्कन गरेको थियो।

सो क्रममा बैतडी जिल्ला अस्पतालले केही नमुना अभ्याससहित सर्वाधिक अङ्क प्राप्त गरेर देशकै उत्कृष्ट अस्पताल बनेको क्षेत्रीय स्वास्थ्य निर्देशनालयका डा. नीराजन श्रेष्ठले बताए।

गत वर्ष ८९ प्रतिशत अङ्क प्राप्त गरेको अस्पतालले यो वर्ष ६ प्रतिशत सुधार गर्दै ९५ प्रतिशत अङ्क प्राप्त गरेको हो। अस्पतालले प्रदान गर्ने सेवा, अस्पतालभित्रका प्राविधिक सुविधा, जनशक्ति व्यवस्थापन, भौतिक अवस्थाजस्ता सूचकका आधारमा मूल्याङ्कन गर्दै अङ्क प्रदान गरिन्छ।

अछाम अस्पताल र दैलेख अस्पतालले क्रमशः ८७ प्रतिशत र ८६ प्रतिशत अङ्क ल्याएर चौथो तथा पाँचौँ स्थान प्राप्त गरेका छन् । जिल्ला अस्पताल बैतडीमा परामर्श सेवा, छात्रवृत्ति करार सेवामा पाँचजना विशेषज्ञ डाक्टरसहित अहिले १३ जना कार्यरत रहेका छन्।

त्यस्तै, १५ वटा बेडको सुविधा भएको अस्पतालमा ४९ बेड सञ्चालनमा रहेको डा। श्रेष्ठले बताए। देशभरिकै उत्कृष्ट अस्पताल भए पनि यहाँ टोकन प्रणाली लागू गर्ने, निःशुल्क औषधिहरूको लिस्ट राख्नेजस्ता सुझाव क्षेत्रीय निर्देशनालयले दिएको छ।

प्रकाशित मिति: ३१ बैशाख २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्