मदन राईले चलाएको स्कुलबारे छानबिन गरिने


 


काठमाडौं, जेठ ८ । बालबालिका माथि यौन दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका मदन राईले चलाएको विद्यालयमाथि छानविन हुने भएको छ । उनले चलाएको जनजागृती माध्यमिक विद्यालयबारे दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले छानबिन गर्न समिति गठन गरेको छ ।

नगरपालिकाको सामाजिक विकास समिति संयोजकसमेत रहेका वडा नम्बर १२ का अध्यक्ष दानबहादुर राईको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको नगर प्रमुख तीर्थराज भट्टराईले जानकारी दिए ।

विद्यालय सञ्चालनको कानुनी पाटो, बालबालिकाको अवस्थालगायत अध्ययन गरी प्रतिवेदन बुझाउने कार्यादेश पाएको छ ।

समितिमा नगर शिक्षा समितिका प्रमुख तीर्थ विक, महिला विकास समिति प्रमुख इरन राई, नेपाल बार एसोसिएसन खोटाङ र जिल्ला प्रशासन कार्यालयका एकरएक प्रतिनिधि सदस्य छन् । छानबिन समितिले काम थालेको चार दिनभित्र प्रतिवेदन नगरपालिकालाई बुझाउने छ ।

बालयौन दुराचारजस्तो गम्भीर घटना सार्वजनिक हुँदासमेत बालबालिकाको हितमा प्रभावकारी कदम चाल्न नसकेकोमा नगरपालिका नेतृत्वले आलोचना खेप्दै आएको छ ।

सरकारी विद्यालय भए पनि जनजागृती मावि मदन राई संस्थापक रहेको शुभद्रा मदन फाउण्डेसनले निशर्त चलाउँदै आएको छ ।

प्रकाशित मिति: ८ जेष्ठ २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्