फेसबुकलाई युरोपमा पौने २ खर्ब जरिवाना


 


काठमाडौं । फेसबुकलाई युरोपमा पौने २ खर्ब जरिवाना गरिएको छ । युरोपका फेसबुक प्रयोगकर्ताको डेटा सुरक्षित नराखेको भन्दै युरोपेली संघले मेटालाई अहिलेसम्मकै ठूलो क्षतिपूर्ति तिराउने भएको छ ।

युरोपेली संघले युरोपका फेसबुक प्रयोगकर्ताको डेटा अमेरिकी सर्भरमा राखेको जनाएको छ । युरोपको डिजिटल गोपनीयता नीति विपरित युरोपेली नागरिकको डेटा अमेरिकी सर्भरमा राखेको भन्दै संघले मेटालाई १ अर्ब ३० करोड डलर (१ खर्ब ७१ अर्ब ८९ करोड ९० लाख रुपैयाँ) जरिवाना तिराउने घोषणा गरेको हो ।

लामो समयको अध्ययनपछि आयरल्यान्ड डेटा प्रोटेक्सन कमिसनले तयार गरेको रिपोर्टको आधारमा संघले कारबाहीको घोषणा गरेको हो । अन्य देशको तुलनामा युरोपेली संघ अन्तर्गतका देशहरूमा डिजिटल अधिकार सम्बन्धि नियमहरू केही फरक र कडा पनि छन् ।

कुनै कम्पनीलाई यति धेरै रकम जरिवाना तिराउने घोषणा गरेको भने यो पहिलो पटक हो । जरिवानासँगै मेटालाई पाँच महिनाभित्र अमेरिकी सर्भरमा भएको डेटा युरोपेली सर्भरमा नै ट्रान्सफर गर्न पनि निर्देशन दिइएको छ ।

प्रकाशित मिति: ९ जेष्ठ २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्