क्रिकेट विश्वकप छनोट : नेपालको पहिलो खेल जिम्बावेसँग


 


काठमाडौं, जेठ ९ । आईसीसी एक दिवसीय क्रिकेट विश्वकप छनोटमा नेपालले आफ्नो पहिलो खेल जिम्बावेसँग खेल्ने भएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले आज (मंगलबार) सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालले उद्घाटन खेल घरेलु टोली जिम्बावेसँग खेल्ने भएको छ । ३ असारदेखि सुरु हुने प्रतियोगितामा नेपालले जिम्बावेसंग हरारे स्पोर्टस क्लबमा खेल्नेछ ।

५ असारमा अमेरिका, ७ असारमा वेष्ट इण्डिज, ९ असारमा नेदरल्याण्ड्ससँग समूह चरणको खेल खेल्नेछ । समूहको शीर्ष तीनमा रहन सके नेपाल सुपर सिक्समा पुग्नेछ ।

सुपर सिक्स चरण राउण्ड रोविन प्रणालीमा खेलाइनेछ । त्यसबाट शीर्ष दुई स्थानमा रहने टिमले प्रतियोगिताको फाइनल खेल्नेछन् भने दुवै टिम भारतमा हुने विश्वकपका लागि छानिनेछन् ।

नेपाल टिमले विश्वकप छनोटको तयारीका लागि दक्षिण अफ्रिकामा १० दिने प्रशिक्षण क्याम्प सञ्चालन गर्नेछ । नेपाल टिम जेठ १७ गते दक्षिण अफ्रिका प्रस्थान गर्नेछ भने २७ जेठमा उतैबाट जिम्बावे जाने कार्यतालिका छ ।

साथै नेपालले ३० जेठमा यूएई र ३२ जेठमा ओमानसँग अभ्यास खेल खेल्ने तालिका तय भएको छ । आईसीसी सुपर लिगमा शीर्ष ८ मा परेका टिम भारतमा अक्टोबर–नोभेम्बरमा हुने विश्वकपका लागि सिधा छनोट भएका थिए ।

पुछारका पाँच टिम, लिग टूका शीर्ष ३ तथा विश्वकप छनोट प्लेअफबाट आएका २ टिम गरी १० टिमले विश्वकप छनोट खेल्न लागेका हुन् ।

प्रकाशित मिति: ९ जेष्ठ २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्