आईसीसीद्वारा असमान व्यवहार, नेपालले टेष्ट राष्ट्रसँग वार्म अप खेल्न नपाउने


 


काठमाडौं, जेठ १० । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले एसोसिएट राष्ट्रहमध्ये नेपालले मात्र टेष्ट राष्ट्रसँग वार्म अप खेल्न नपाउने तालिका सार्वजनिक गरेको छ ।

अर्को महिना जिम्बावेमा हुने क्रिकेट विश्वकप छनोटको लागि मंगलबार समूह विभाजन र खेल तालिका सार्वजनिक गर्दै आईसीसीले वार्म अप म्याचको तालिका पनि सार्वजनिक गरेको छ ।

सो तालिका अनुसार हरेक टिमले दुई–दुई वार्म अप म्याच खेल्ने तालिका छ । नेपाल बाहेक अन्य पाँच राष्ट्रले टेष्ट राष्ट्रसँग वार्म अप म्याच खेल्ने तालिका हुँदा नेपालले भने एसोसिएट राष्ट्र ओमान र यूएइसँग मात्र वार्म अप म्याच खेल्ने तालिका छ ।

त्यसैले टेष्ट राष्ट्रसँग नेपालको वार्म अफ म्याच नराखिएको भन्दै नेपाल क्रिकेट संघ क्यानले आईसीसीलाई ध्यानाकर्षण गराएको छ ।

क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठकले आईसीसीको सो तालिका अनुसार नेपालमाथि असमान व्यवहार भएको बताए । नेपालले पनि कम्तीमा एक टेष्ट राष्ट्रसँग वार्म अप म्याच खेल्न पाउनुपर्ने उनको भनाइ छ ‘हामीले मंगलबारै आईसीसीलाई यसबारे इमेल लेखेर जानकारी गराइसकेका छौँ । जवाफ आएको छैन ।’ उनले भने ।

पाठकले अझै समय रहेकोले वार्म अप म्याचको खेलतालिकाबारे पुनर्विचार गर्न आग्रह गरेको बताए । नेपालले जुन १३ मा युएई र जुन १५ मा ओमानसँग वार्म अफ म्याच खेल्ने तालिका छ ।

एसोसिएट राष्ट्रमध्ये नेदरल्याण्ड्स, स्कटल्याण्ड र अमेरिकाले दुई वटै वार्म अप म्याच टेष्ट राष्ट्रसँग खेल्ने तालिका छ । नेपालसँग एउटाएउटा वार्म अप म्याच खेल्ने युएई र ओमानले टेष्ट राष्ट्रसँग समान एक वार्म अफ म्याच खेल्नेछन् ।

जुन १८ देखि जुलाई जुलाई ९ सम्म जिम्बावेको हरारे र बुलायोमा हुने विश्वकप छनोटमा चार टेष्ट राष्ट्र र ६ एसोसिएट गरी कूल १० टिमले प्रतिस्पर्धा गर्नेछन् ।

प्रकाशित मिति: १० जेष्ठ २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्