नागरिक एपको डिजिटल साक्षरता कार्यक्रम जुम्लाबाट सुरू


 


काठमाडौं, जेठ १२ । राष्ट्रिय सूचना प्रविधि केन्द्रले नागरिक एपको डिजिटल साक्षरता कार्यक्रम जुम्लाबाट सुरू गरेको छ ।

सातवटै प्रदेशमा गर्ने भनेको नागरिक एपसम्बन्धी सचेतना कार्यक्रम बिहीबार कर्णाली प्रदेशको जुम्लाबाट सुरु गरिएको हो । जुम्लाका प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले नागरिक एपमार्फत डिजिटल सेवा लिँदै कार्यक्रमको सुरुवात गरे ।

नागरिक एपका तर्फबाट इन्जिनियर प्रविन चौहानले विशेष प्रस्तुति दिएका थिए भने प्रयोगकर्ता र सरोकारवालासँग अन्तरक्रिया गरिएको थियो । एपमा उपलब्ध सेवाहरूका बारेमा सरोकारवाला र सर्वसाधारणलाई जानकारी दिने उद्देश्यले सातै प्रदेशमा कार्यक्रम गरिन लागेको इन्जिनियर चौहानले बताए ।

सरकारी सेवाहरू सजिलो, छिटो र सुरक्षित तरिकाले मोबाइलबाटै उपलब्ध गराउने उद्देश्यले सरकारले नागरिक एप प्रयोगमा ल्याएको थियो । यो एप हालसम्म २७ लाख बढीले डाउनलोड गर्नुका साथै ५३ बढी सेवाहरू उपलब्ध रहेको केन्द्रले जनाएको छ ।

नागरिक एप प्रयोग गर्न आफ्नो नाममा भएको मोबाइल नम्बर अनिवार्य गरिएको छ । त्यसपछि नागरिकता, पासपोर्ट, मतदाता परिचयपत्र वा ड्राइभिङ लाइसेन्सबाट पनि खाता खोल्न सकिन्छ ।

कर्णालीको सुर्खेतमा भइरहेको छ । त्यस्तै धनगढीमा जेठ १४ गते र जेठ २६ मा गण्डकी प्रदेशको पोखरामा साक्षरता कार्यक्रम हुँदैछन् ।

प्रकाशित मिति: १२ जेष्ठ २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्