धनगढीका मेयर हमालले लागू गर्दै ‘केजरीवाल शिक्षा’ मोडेल


 


धनगढी, जेठ १९ । धनगढी उपमहानगरपालिकाले नगरक्षेत्रमा भारतको राजधानी दिल्लीको शिक्षा मोडेल लागू गर्ने तयारी गरेको छ । उक्त शिक्षा मोडेलको अध्ययनका लागि एक टोली दिल्ली पठाइएको छ ।

उपमहानगरपालिकका उपमेयर कन्दकला रानाको नेतृत्वमा सुदूरपश्चिम विश्वविद्यालयका पूर्वरजिष्टार डाक्टर हेमराज पन्तसहितका शिक्षाविज्ञहरू, १९ वडाबाट एक÷एकजना प्रधानाध्यापक, कार्यपालिकाका सदस्यहरू, शिक्षा महाशाखाका प्रमुखहरू गरी ३५ जनाको टोली दिल्ली पठाएको उपमहानगरका मेयर गोपाल हमालले जानकारी दिए ।

टोलीमा संलग्न डाक्टर हेमराज पन्तले दिल्लीका मुख्यमन्त्रीले पछिल्लो एक दशकमा गरेको आमुल परिवर्तन अथवा केजरीवाल मोडेलको अध्ययन गरेर उपमहानगरको शिक्षा सुधारका लागि प्रतिवेदन दिइने बताए ।

दिल्लीका मुख्यमन्त्री केजरीवालले शिक्षाको सुधारका लागि सरकारी विद्यालयमा अंग्रेजी माध्यममा पढाई, विद्यालयका पूर्वाधारमा लगानी र सौन्दर्यीकरण, शिक्षकहरूको क्षमता अभिवृद्धि, खुला तथा भर्चुअल कक्षाको मोडल सञ्चालनमा ल्याएका छन् ।

उनका अनुसार स्कुलले कसरी पठनपाठन गरिरहेको छ भनेर टोलीले विद्यालयका प्रधानाध्यापकसँग छलफल गर्नुका साथै पठनपाठनका क्रममा अपनाउने प्रविधिबारेमा पनि जानकारी लिएको छ ।

केजरीवालको शिक्षा मोडेल अहिले दक्षिण एशीयाको नमूना मोडेलको हो । उनले विद्यार्थीलाई दिइने किताबी ज्ञानभन्दा पनि जीवनमा उपयोगी शिक्षाको मोडेल तयार पारेर लागू गरेका छन् ।

धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले शिक्षाले नै देशको भविष्य बन्ने भएकाले सिमित स्रोत साधनका बीच पनि सामुदायिक विद्यालयको शिक्षामा सुधार ल्याउने प्रयास गरिएको बताए ।

प्रकाशित मिति: १९ जेष्ठ २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्