भारु साट्न बैंक खाता अनिवार्य खोल्नु पर्ने



काठमाडौं, मंसिर ४

नेपालीले आफूसँग भएका पाँच सय र हजार दरका पुराना भारतीय रुपैयाँ (भारु) सटही गर्न अनिवार्य बैंक खाता खोल्नुपर्ने भएको छ ।

भारु सटहीबारेको मोडालिटी तयार गर्न गठित समितिको पहिलो बैठकमा बैंक खाता नभएका नेपालीलाई समेत अनिवार्य बैंक खाता खोल्न लगाउनेबारे छलफल भएको समिति सदस्य एवं राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभाग प्रमुख भीष्मराज ढुंगानाले जानकारी दिए ।

वैध रूपमा आर्जित प्रतिबन्धित भारु बैंकिङ प्रणालीमा खिचिँदै

नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभाग प्रमुख भीष्मराज ढुंगानाका अनुसार नेपालीले वैध रूपमा आर्जन गरेको प्रतिबन्धित दरका नोट बैंकिङ प्रणालीमा खिच्ने मोडालिटी बन्दै छ ।

नेपालीलाई निश्चित प्रावधान पूरा गरेर आफ्नो बैंक खातामा २५ हजार भारुसम्म जम्मा गर्न दिने मोडालिटी तयार गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ । त्यस्तो मोडालिटी भारतीय दूतावासमार्फत भारत सरकारलाई पठाइने नेपाली अधिकारीको भनाइ छ । हाल नेपालका सबै जिल्ला सदरमुकाममा बैंकिङ पहुँच पुगिसकेकाले नजिकको बैंक शाखामा गएर खाता खोल्न लगाउने तयारी राष्ट्र बैंकले गरेको छ ।

ग्राहक पहिचानमा सरलीकरण

राष्ट्र बैंकले वर्षेनी भारतीय श्रमबजारमा पुगेर नेपाल फर्कने दुर्गम इलाकाका नेपालीका लागि ग्राहक पहिचान प्रावधानमा पनि सरलीकरण गरिने बताएको छ । ‘नो योर कस्टुमर (केवाइसी) अर्थात् आफ्ना ग्राहकलाई चिन’ भन्ने प्रावधानका कारण बैंक खाता खोल्न धेरै मानिसलाई समस्या भएपछि केन्द्रीय बैंकले न्यून आय भएका ग्रामीण क्षेत्रका ग्राहकका लागि सरल केवाइसी फारम व्यवस्था गरेको छ । त्यस्तो व्यवस्थाअन्तर्गत नै बैंक खाता खोल्न प्रेरित गरिने कार्यकारी निर्देशक ढुंगानाले जानकारी दिए ।

दीर्घकालीन सुरक्षाका लागि बैंक खाता

‘अहिले धेरै नेपालीले बैंकमा खाता नखोलेका कारण नगद बोकेर भारतबाट नेपाल आउँदा बाटोमै पैसा लुटिने, हराउनेजस्ता समस्या भोग्नुपरेको छ,’ कार्यकारी निर्देशक ढुंगानाले भने, ‘यस्ता समस्याको दीर्घकालीन समाधान खोज्न पनि हामीले भारतीय श्रमबजारमा प्रवेश गर्ने नेपालीलाई बैंकिङ पहुँचमा ल्याउनु आवश्यक छ ।’ अहिले नेपालीहरू बैंक खाता नै नखोली भारत जाँदा औपचारिक माध्यमबाट रेमिट्यान्स पठाउन नसक्ने समस्या छ । भारत जाने कामदारले नियमित रूपमा नेपालस्थित आफ्नो बैंक खातामा पैसा पठाउने व्यवस्था भएपछि आफ्नो कमाइ नास हुने सम्भावना हट्ने विज्ञ बताउँछन् ।

भारतमा कार्यरत नेपाली श्रमिकको नेपालमा रहने परिवारले यहाँको बैंकबाट पैसा निकालेर खर्च गर्न सक्ने व्यवस्था भएपछि दुर्घटना, बिरामी वा आपतकालीन घटनामा वित्तीय स्रोत परिचालन गर्नसमेत सघाउ पुग्ने अर्थशास्त्रीहरूको भनाइ छ । अहिलेको अवस्थामा घरमा केही समस्या भए भारत पुगेको व्यक्ति आफैँ पैसा बोकेर नेपाल आउनुपर्ने अवस्था रहेको एक बैंकरले बताए । बैंकमा पैसा जम्मा गर्ने प्रचलनले व्यक्तिगत र पारिवारिक समस्यासँग जुध्नसमेत दीर्घकालीन सुरक्षा प्रदान गर्ने उनी बताउँछन् । अर्कातिर, भारतले पटक–पटक आफ्ना मुद्रामा यस्तो प्रतिबन्ध लगाउँदै जान थालेपछि भारुप्रतिको जनविश्वास घट्न सक्छ । आफूसँग भएको पैसासमेत काम नलाग्ने अवस्थाबाट मुक्ति पाउन पनि बैंकमा जम्मा गर्ने बानीको विकास गर्न आवश्यक रहेको राष्ट्र बैंक अधिकारीहरूको भनाइ छ ।

तीन दिनभित्र विस्तृत मोडालिटी

डेपुटी गभर्नरको संयोजकत्वमा गठित समितिले तीन दिनभित्र पुराना भारु खिच्नेबारेको विस्तृत मोडालिटी र स्वघोषणा फारम तयार पार्ने बताएको छ । समितिको शुक्रबार बिहान बसेको पहिलो बैठकमा तीव्र रूपमा गृहकार्य अघि बढाउने र छिटै मोडालिटी तयार पारेर राष्ट्र बैंकमार्फत भारतलाई प्रस्ताव गर्ने निष्कर्षमा टोली पुगेको समितिका एक सदस्यले बताए ।

२५ हजारसम्म सटही सुविधा दिन भारत सकारात्मक

कालो धन र नक्कली नोटको सटही हुँदैन भन्नेमा भारत विश्वस्त भए २५ हजार भारुसम्म सटही सुविधा दिन सक्ने भारतीय दूतावासले संकेत गरेको राष्ट्र बैंकका अधिकारीले बताएका छन् ।

‘भारतले नै नेपाल आउजाउ गर्ने नेपाली वा भारतीयलाई २५ हजार भारुसम्म नगद बोकेर आउन सुविधा दिएकाले त्यो रकम सटही सुविधा दिनु उसको दायित्व हो,’ राष्ट्र बैंकका एक अधिकारीले भने, ‘तथापि, आफ्नो मुद्राबारेको अन्तिम निर्णय गर्ने अधिकार पनि उनीहरूसँगै छ।’ आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News