असार २ देखि विद्यालय बन्द गर्ने विद्यालय कर्मचारी परिषदको चेतावनी
काठमाडौं, जेठ २८ । नेपाल विद्यालय कर्मचारी परिषद्ले सामुदायिक विद्यालयका कर्मचारीहरुलाई बजेटमा सम्बोधन नगरिएको भन्दै असार २ गतेदेखि विद्यालय बन्द गर्ने चेतावनी दिएको छ ।
आफूहरुलाई बजेटमा सम्बोधन नगरिएको भन्दै आन्दोलित विद्यालय कर्मचारीहरुले आइतबार काठमाडौँको बानेश्वरमा थाली बजाएर सरकारको विरोध गरेका छन्।
उनीहरूले सरकारको नीति तथा कार्यक्रममा सामुदायिक विद्यालयका कर्मचारीहरुलाई बजेटमा सम्बोधन गरिनेछ भन्ने विषय उल्लेख नगरेको र बजेटमा आफूहरुलाई कुनै सम्बोधन नभएको बताएका छन् ।
बिरोध कार्यक्रमका क्रममा बोल्दै नेपाल विद्यालय कर्मचारी परिषद्का राष्ट्रिय अध्यक्ष गंगाराम तिवारीले २०७९ भाद्र १९ गते तत्कालीन शिक्षामन्त्री देवेन्द्र पौडेलको मन्त्रीस्तरीय निर्णय गरी सामुदायिक विद्यालय कर्मचारीको दुई तहको तलवमान वृद्धि गर्ने भनेपनि बजेटमा कुनै सम्बोधन नभएकाले बाध्य भइ बिरोध गर्नुपरेको बताए।
उनले आजका दिनसम्म शान्तिपूर्ण आन्दोलन गरेपनि असार १ गतेसम्म पनि माग पूरा नभए २ गतेदेखि अनिश्चितकालका लागि सामुदायिक विद्यालय बन्द गर्ने चेतावनी दिए। उनले जेठ २९ गतेबाट काठमाडौँमा रिले अनसन बस्ने पनि बताए।
प्रकाशित मिति: २८ जेष्ठ २०८०, आइतबार
















