मलेसियामा दुई नेपाली बेपत्ता


 


दोहा, जेठ ३१ । वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका दुई नेपाली कामदार बेपत्ता भएका छन् ।

यो हप्ता मात्रै दुई जना नेपाली कामदार बेपत्ता भएको नेपाली दुताबासले सूचना आफ्नो आधिकारिक फेसबुक पेजमा राखेको छ।

दूतावासका अनुसार बेपत्ता हुनेमा मुसिकोट नगरपालिका वडा नम्बर ९, दासिकोट, गुल्मी स्थायी निवासी कृष्णबहादुर विक र सिनुरजोडा–१, धनुषा स्थायी निवासी मो. कुर्मान सेख छन्।

विगत आठ वर्षदेखि मलेसियामा रहेका बिक घरपरिवार तथा साथीभाइसँग सम्पर्कविहीन थिए। दूतावासले साथीमार्फत प्राप्त फोटोलाई फेसबुक पेजमार्फत सार्वजनिक गरेको हो।

मानसिक अवस्था ठिक नभएकोले उनलाई देख्ने तथा भेट्नेले नेपाली दूतावासमा जानकारी गराउन भनिएको छ। दूतावासले ०१६–२४७२७७७ नम्बर सम्पर्क गरेर दूतावासलाई जानकारी गराउन अनुरोध गरेको हो।

यस्तै बेपत्ता भएका अर्का कुर्मान सेख पनि २०१७ मा नेपालदेखि मलेसियामा पुगेका हुन्। त्यहाँ पुगेको केही समयपछि नै कम्पनी छोडेर अवैधानिक रुपमा बस्दै आएका थिए। उनले आफू अवैधानिक रुपमा बस्दै आएको जानकारी परिवार तथा साथीभाइलाई गराएका थिए।

तर, विगत एक वर्षदेखि उनी पनि परिवारको सम्पर्कमा नरहेकाले खोजी गरिदिन त्यहाँ रहेका विभिन्न संघ संस्थालाई दूतावासले अनुरोध गरेको हो।

मलेसिया पुगेपछि आफ्नो भिसा लागेको कम्पनी छाडेर अन्यत्र जाने, अवैध तरिकाले बस्ने, व्यवहारजन्य समस्यालगायतको कारण नेपाली जेल पर्ने गरेका छन्।

त्यस्ता नेपालीहरू परिवारको सम्पर्कमा आउन नसक्ने भएकाले पनि खोजी गरिदिन कल आउने गरेको दूतावासका द्वितीय सचिव प्रेमबहादुर बुढ थापाले जानकारी दिए।

क्वालालम्पुरस्थित नेपाली दूतावासले हरेक हप्ता जस्तै मलेसियामा नेपाली कामदार बेपत्ता भएको भन्दै खोजी गर्न त्यहाँ रहेका विभिन्न नेपाली संघ संस्थालाई आग्रह गर्ने गरेको छ।

प्रकाशित मिति: ३१ जेष्ठ २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्