अमेरिकाले नेपाललाई दियो २०८ रनको लक्ष्य


 


काठमाडौं, असार ५ । विश्वकप छनोट क्रिकेटमा अमेरिकाले नेपाललाई २०८ रनको लक्ष्य दिएको छ । नेपालले अबको केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।

जिम्बाव्वेको हरारेमा टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको अमेरिकाले ४९ ओभरमा सबै विकेट गुमाएर २०७ रन बनायो । उसका सयन जंहागीर १०० रनमा अविजित रहे ।

पावर प्लेमा करण केसीले घातक बलिङ गरेपछि अमेरिकाले १९ रन जोड्दा महत्वपूर्ण चार विकेट गुमाइसकेको थियो ।

तर सुशान्त मदानी र गजानन्द सिंहले पारी सम्हाले । दुबैले पाँचौं विकेटका लागि ४७ रनको साझेदारी गरे । २२औं ओभरको तेस्रो बलमा दिपेन्द्र सिंह ऐरीले यो साझेदारी तोडे । २६ रन बनाएका गजानन्दलाई आरिफ शेखले स्लिपमा क्याच गरे ।

तर सातौं नम्बरमा ब्याटिङ गर्न आएका जंहागीरले क्रिजमा डेटेर खेले । उनले छैटौं विकेट मदानीसँग २९ रनको साझेदारी गरे । ४२ रन बनाएका मदानीलाई ललित राजवंशीले क्लिन बोल्ड गरे । निशर्ग पटेलले ३४ रनको साझेदारी गरे, पटेललाई गुल्सन झाले विकेटकिपर आसिफ शेखको हातबाट क्याच आउट गराए ।

त्यसपछि आएका जेस्सी सिंहले जंहागीरसँग ४२ रनको साझेदारी गरे । जेस्सीलाई दिपेन्द्र सिंह ऐरीले कप्तान रोहित पौडेलको हातबाट क्याच आउट गराए ।

क्रिजमा टिकेर बाउण्ड्री समेत हानिरहेका जंहागीरले नवौं विकेटका लागि सौरभ नेत्रभालकरसँग ३७ रनको साझेदारी गरे । त्यसक्रममा उनले ४८।३ ओभरमा शतक पुरा गरे । ५६ बलमा करियरमै पहिलो पटक ५० रन पुरा गरेका उनले थप २३ बलमा शतक बनाए । अर्को बलमा गुल्सनले नेत्रभालकरलाई बोल्ड गरे । अन्तिम ब्याट्सम्यानका रुपमा क्रिजमा आएका क्याल फिलिपले पहिलो बलमा रन जोड्न सकेनन् । अर्को बलमायोर्कर फालेका गुल्सनले एलबीडब्लू धरापमा पारे र अमेरिका २०७ रनमा अलआउट भयो ।

नेपालका करण केसी एक्लैले ४ विकेट लिए भने गुल्सन झाले ३, दीपेन्द्र सिंह ऐरीले २ र ललित राजवंशीले एक विकेट लिए । सन्दीप लामिछाने भने आज पनि विकेटविहीन रहे । उनले १० ओभर बलिङ गरे ५८ रन दिएका थिए ।

प्रकाशित मिति: ५ असार २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्