प्रतियोगितात्मक साकेवा सिलि सम्पन्न


 


siliभाेजपुर, मंसिर ६

जिल्लाको सानोदुङमा थर्पूमा शनिबार उद्घाटन भएको साकेवा सिलि प्रदर्शन कार्यक्रम साेमबार सम्पन्न भएको छ । किरात उधौली चाडको अवसरमा तीन दिने वृहत साकेवा सिलि–नाच प्रतियोगिता आयोजना गरिएको थियो ।

किरात राई यायोक्खा प्रारम्भिक कार्यसमिति र किरावाबुङ साकेन्वा समाज सानोदुङमा, लुभवाको संयुक्त आयोजना तथा स्थानीय किरातीजनहरुको सक्रियतामा कार्यक्रम सम्पन्न भएको हो । साकेवा सिलि प्रदर्शन कार्यक्रम मात्र आयोजना गरिँदै आइएकोमा यस पटक प्रतियोगितात्मक साकेवा सिलि प्रदर्शन गरिएको हो ।

किराती मौलिक धर्म, संस्कर एवम् संस्कृतिको उत्थानमा किरातीहरुमा थप उर्जा प्रदान गर्न यस किसिमको कार्यक्रमको आयोजना गरिएको र यसलाई निरन्तरता दिने लक्ष्य राखिएको कार्यक्रम संयोजक असिम दुङमालीले बताए । प्रतियोगितामा दुङमा क्षेत्रका अधिकांश गाविसहरुबाट उत्साहजनक सहभागिता रहेको थियो ।

sakewa-sili-1प्रतियोगितामा तिवारी भञ्ज्याङ र वास्तिमका एक एक र सानोदुम्माका चार गरी जम्मा ६ वटा समूहहरुले भाग लिएका थिए । प्रतिस्पर्धाको नतिजा अनुसार किरावा साकेवा सिलि खोम्चि सानोदुम्मा–२ (१५ वर्ष मुनि) का टोलि प्रथम, तिवारी भञ्ज्याङ साकेवा सिलि टोलि दोश्रो, वास्तिम साकेवा सिलि टोलि तेश्रो र किरावाबुङ साकेन्वा सिलि टोलिले सान्त्वना स्थान हासिल गर्दै क्रमशः नगद रु. ५ हजार, ३ हजार, २ हजार र १ हजार का साथमा प्रमाण पत्र प्रदान गरी सम्मान एवम् पुरस्कृत गरिएको थियो ।

त्यसैगरी व्यक्तिगत तर्फको उत्कृष्ट सिलि प्रदर्शनको पुरस्कार रु. ५ सय सानोदुङमाकै १२ वर्षीय दिपा राईले हात पारिन् । सम्पूर्ण सम्मान पुरस्कार तथा कार्यक्रम व्यवस्थापनकोे प्रायोजन सानोदुङमामै जन्म भइ हाल बेलायत बसोबास गर्दै आएका समाजसेवी ओमनारायण राईले गरेका थिए ।

sakewa-sili-2यस पटक प्रतियोगितालाई भन्दा पनि सबैको सहभागीतालाई मध्येनजर गरेर कार्यक्रम आयोजना गरिएको भए तापनि सबै स्थानहरुबाट सहभागीता हुन सकेन तथापि, उपस्थिति भने दुङमा आसपासका जरायोटार, याकु लगायतका गाविसहरुबाट समेत भएको जानकारी कार्यक्रम आयोजनामा समन्वयकर्ताको रुपमा रहेका मौसम राईले बताए । कार्यक्रममा किराती तथा गैर किराती सबैको उत्तिकै उपस्थिति रहेको थियो । सानोदुङमा यति ठूलो जनमासको उपस्थिति रहेको किराती कार्यक्रम पहिलो पटक भएको धाराणा स्थानीयवासीहरुले बताएका छन् ।

सोही अवसरमा सोमबार एक समारोहका बीच गाविस सानोदुङमाको सावा लाख आर्थिक अनुदानमा र स्थानीय जनसहभागीतामा निर्मित साकेवा खिम–घरको किराती विधि अनुसार उद्घाटन गरिएको छ । उद्घाटन कार्यक्रममा भवन निर्माण समितिका अध्यक्ष भर्जमान राई, कामदारहरु मनन्त राई, दर्जमान राई लगायत निर्माण समन्वयकर्ता रविन तुम्छा राईलाई उपस्थितजनहरुले अविर, फूलमाला–खादा ओढाएर धन्यवाद स्वरुप सम्मान गरिएको छ ।

प्रकाशित मिति: ६ मंसिर २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्