रामदेवले नेपालमा २० हजारलाई रोजगारी दिने


 


ram-devकाठमाडौं, मंसिर ८

योगगुरु बाबा रामदेवले नेपालको समृद्धिमा योगदान पुर्‍याउने बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघले काठमाडौंमा बाबा रामदेवको स्वागत्मा गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

नेपालको प्राकृतिक एवं भौगोलिक स्रोतको उपयोग गरी नेपालीहरुलाई समृद्ध बनाउन सकिने उनले बताए ।

उनले पतञ्जलि उद्योगको माध्यमबाट आगामी १० वर्षमा नेपालमा १० हजार करोड रुपैयाँसम्म आर्थिक गतिविधि पुर्‍याउने एवं २० हजारलाई प्रत्यक्ष एवं एक लाखलाई अप्रत्यक्षरुपमा रोजगारी प्रदान गर्ने दाबी गरे ।

उनले नेपाली उद्योगबाट आएको नाफा नेपालमा नै उपयोग गरिने पनि बताए ।

नेपालमा बन्द अवस्थामा रहेका उद्योगहरुलाई सन्चालन गर्न आफूले प्रयास गर्ने पनि उनले उल्लेख गरे ।

कार्यक्रममा महासंघका अध्यक्ष पशुपति मुरारकाले देशको स्रोत एवं साधनको उपयोग गरेर उद्योगधन्दा स्थापना गर्न महासंघ पतञ्जलिसँग सहकार्य गर्न तयार रहेको बताए ।

यस्तै, गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र महतोले स्वदेशी उत्पादन उपयोग गर्ने भावना प्रत्येक नेपालीमा विकसित हुनुपर्ने बताए ।

पतञ्जलिको भारतभन्दा बाहिर पहिलो उद्योग नेपालमा स्थापना भएकाले यसबाट लाभ लिनुपर्नेमा पनि उनले जोड दिए ।

सो अवसरमा बाबा रामदेवले योग, आयुर्वेद एवं उद्योग–व्यवसाय सन्चालनसम्बन्धी प्रेरणादायी प्रवचन पनि दिएका थिए ।

प्रकाशित मिति: ८ मंसिर २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्