यी १० जिल्लालार्इ लाेडसेडिङ मुक्त बनाउने तयारी सुरू


 


काठमाडाें, मंसिर १०

नेपाल विद्युत प्राधिकरण राजधानीसहित १० जिल्लामा वर्षैभरि लोडसेडिङ हटाउने तयारीमा पुगेको छ । पुस-माघ र फागुन-चैतमा विजुलीको माग उच्च भई लोडसेडिङ गर्नुपर्ने अवस्थालाई पनि सहज समाधान गर्ने कार्ययोजना बनाइएको प्राधिकरण स्रोतले जनाएको छ।

प्राधिकरणले काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, दोलखा, सिन्धुपाल्चोक, नुवाकोट, रामेछाप धादिङ र रसुवामा बाहै्र महिनामा विजुली आपूर्ति गर्ने तयारी भएको प्राधिकरणका प्रवक्ता प्रबल अधिकारी बताउँछन्। ‘यसको लागि विद्युतको उच्च उत्पादन, आपूर्ति व्यवस्थापन, चुहावट नियन्त्रणजस्ता तयारी गरेका छौं’ उनले भने ‘हेटौंडा र सुनसरीको दुहबीमा डिजेल प्लान्ट पनि चलाउने योजना छ।’

प्राधिकरणले स्थानीय माग पुरा गर्न भारतबाट थप विद्युत आयात गर्ने योजना पनि बनाएको छ। केही समयभित्रै भारतबाट थप २ सय २० मेगावाट विद्युत आयात गर्ने दुई देशीय सहमति हुने बुझिएको छ।

निर्माणाधीन कटैया–कुशहवा प्रसारण लाइन आगमी डिसेम्बर दोस्रो सातासम्म सम्पन्न गरी ५० मेगावाट बिजुली दिन भारत तयार भइसकेको बताइएको छ। रक्सौल–परवानीपुर प्रसारण लाइनबाट पनि डिसेम्बर अन्त्यसम्म ५० मेगावाट बिजुली आयात गर्न सकिने योजनामा प्राधिरण पुगेको उनी बताउँछन्। त्यसैगरी टनकपुरस्थित ट्रान्सफर्मरको क्षमता बढाएर ४० मेगावाट विद्युत थप आयात गरिने उनको भनाइ छ।

प्राधिकरणले केही समयभित्रै स्वदेशी जलविद्युत आयोजनाहरुले पनि थप विद्युत उत्पादन गर्ने जनाएको छ। प्राधिकरणका प्रवक्ता अधिकारीका अनुसार कालिका दरौंदी, माथिल्लो मस्र्याङ्दी, माथिल्लो मादी, मिया खोला र हेवा खोला आयोजनाबाट करिब एक महिनाभित्र ७२ मेगावाट विद्युत आपूर्ति हुनेछ।

प्रकाशित मिति: १० मंसिर २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्