के छ अब प्रचण्डकाे प्लान ?


 


काठमाडाैं, मंसिर १०

संविधान संशोधनको विषयमा सहमति जुटाउन बसेको सत्तारुढ दलको बैठक बिनानिस्कर्ष टुंगिएको छ । शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा सहितका सत्तारुढ दलका नेताबीच संशोधन प्रस्तावलाई अन्तिम रुप दिन करिब ३ घण्टा लामो छलफल भएता पनि सहमति जुट्न सकेन् ।

प्रमुख प्रतिपक्ष नेकपा एमाले संशोधनको विपक्षमा र मधेसी मोर्चा, संघीय गठबन्धनले आफू अनुकुल संशोधनका लागि दबाब दिइरहेका बेला यसलाई अन्तिम रुप दिने बसेको सत्तारुढ दलको बैठक बिनानिस्कर्ष टुंगिएको हो । सरकारले आजै संसद सचिवालयमा संविधान संशोधन विद्येयक दर्ताको तयारी गरेको थियो ।

सत्तारुढ दलको बैठकमै संशोधन प्रस्तावको विषयमा ठोस धारणा बन्न नसकेपछि त्यसपछिका दुवै बैठक स्थगित भएका छन् । जसका कारण संशोधन दर्ता गर्ने समय झन् पर ढकेलिएको छ ।

एमाले संशोधनको विपक्षमा उभिनु, मधेसी दलले भनेजस्तो संशोधन प्रस्ताव ल्याउँदा पार्टी भित्रैबाट समेत विरोध हुनु, सत्तारुढ दलले सहमति गरेर संशोधन प्रस्तावलाई अन्तिम रुप दिन नसक्नु आदीका कारण प्रधानमन्त्री प्रचण्ड यतिबेला तनावमा छन् ।

तनावमा रहेका प्रचण्डले शनिबार यस विषयमा सहमति जुटाउने प्रयास गर्ने र सहमति नजुटेको खण्डमा आइतबार मन्त्रीपरिषद् बैठकमा संशोधन प्रस्ताव लैजाने तयारी गरेका छन् । उनले सीमाकंन, भाषा, नागकिरता र राष्ट्रिय सभामा प्रतिनिधित्व लगाएतको विषय समेटिएको संशोधन प्रस्ताव मन्त्रीपरिषद्को बैठकमा लैजाने तयारी गरेका हुन् ।

त्यस लगत्तै सो प्रस्ताव सदनमा गरिने छ । सरकारले तयार पारेको संशोधनको ड्राफ्टमा मधेसी दलले सहमति नजनाएपछि हाललाई संशोधन प्रस्ताव दर्ता गर्ने र असहमतिको विषयमा मधेसी दललाई ‘नोट अफ डिसेन्ट’ लेख्न प्रचण्डले आग्रह गरिसकेका छन् ।

यसमा मधेसी दल सहमत भएता पनि आफ्ना मागको आधारभूत विषय छुट्न नहुने उसको अडान छ । यी सबैका बीच आइतबार मन्त्रीपरिषद्मा संशोधनको प्रस्ताव पेश गरेर त्यसलाई कानुनमन्त्री अजयशंकर नायकमार्फत सदनमा दर्ता गर्ने तयारी प्रचण्ड सरकारको छ ।

प्रकाशित मिति: १० मंसिर २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्