झापा, मोरङ र सुनसरीबारे जनप्रतिनिधिले निर्णय गर्नुपर्ने


 


ishwor-bhim-lalbabu-sherdhanउर्लाबारी (मोरङ), मंसिर १०

नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले वर्तमान सरकार संविधान संशोधनका नाममा निर्वाचन नगराउने षड्यन्त्रमा लागेको आरोप लगाएका छन । कोसीहरैचामा आज अखिल नेपाल महिला सङ्घको छैटौँ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै नेता पोखरेलले एमालेलाई राष्ट्रिय स्वाभिमानमाथि आँच आउने काम कदापि स्वीकार्य छैन भने ।

अङ्गीकृत नागरिकलाई राज्यका प्रमुख पदमा पुग्ने व्यवस्था एमालेलाई स्वीकार्य नहुने भन्दै उनले झापा, मोरङ र सुनसरी कहाँ रहने भन्ने विषयमा जनप्रतिनिधिले निर्णय गर्नुपर्छ भने ।

अधिवेशनलाई सम्बोधन गर्दै एमालेका सचिव भीमप्रसाद आचार्यले संविधान जारी गर्ने र यसको कार्यान्वयनका पक्षमा एमालेले नेतृत्वदायी भूमिका खेलेकै कारणले अहिले चौतर्फी आक्रमण र एक्ल्याउने काम भइरहेको विचार व्यक्त गरे ।

एमालेका पोलिटब्युरो सदस्य लालबाबु पण्डितले आफ्नो पार्टी कुनै पनि छिमेकीको आदेश मान्न तयार नरहेको बताए । नेपालको संविधानले भारत, अमेरिका, जापानको भन्दा पनि धेरै अधिकार जनतालाई दिएको बताउँदै उहाँले एमालेले यसको कार्यान्वयन गराएरै छाड्ने अठोट व्यक्त गरे ।

एमालेका नेता एंव पूर्व सञ्चार मन्त्री शेरधन राईले नयाँ संविधानमा स्थानीय तहमा ४० प्रतिशत महिला सुनिश्चिततादेखि आदिवासी, मधेसी, दलित सबैको अधिकार समेटिएको स्पष्ट पारे ।

प्रकाशित मिति: १० मंसिर २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्