सत्तारूढ दलकाे बैठक किन बहिष्कार गरे शशांक र टाेपबहादुरले ?


 


shasank-koirala-and-top-rayamaghiकाठमाडाैं, मंसिर ११

संविधान संशोधनको अन्तिम निस्कर्ष निकाल्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको बालुवाटार बैठक सत्तारुढ दलकै प्रभावशाली नेताहरुले बहिष्कार गरेका छन् । प्रधानमन्त्रीले बोलाएको बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, गृहमन्त्री तथा नेता विमलेन्द्र निधि, मन्त्री रमेश लेखक सहभागि भएपनि महामन्त्री शशांक कोइरालाले भने बहिष्कार गरेका छन् ।

महामन्त्री शशांकको निर्वाचन क्षेत्र रहेको प्रदेश नम्वर पाँच टुक्राउने प्रस्तावमा असहमति जनाउँदै आएका कोइरालाले बालुवाटार वहिष्कार गरेको स्रोतले बताएको छ । उनले आफ्नै निर्वाचन क्षेत्रका कार्यकर्तालाई सरकारको प्रस्तावको विरोध गर्न औपचारिक आह्वान पनि गरिसकेका छन् । तर पनि प्रधानमन्त्री दाहालले टुक्राउने प्रस्ताव राखेका छन् ।

त्यसैगरी प्रमुख सत्तारुढ दल माओवादी केन्द्रका तर्फबाट प्रधानमन्त्री दाहाल, नेता नारायणकाजी श्रेष्ठ, बर्षमान पुन सहभागि भएपनि प्रभावशाली नेता टोपबहादुर रायमाझीले बहिष्कार गरेका छन् । पाँच नम्वर प्रदेश टुक्राउने माओवादी अध्यक्ष तथा प्रधानमन्त्री दाहालको प्रस्तावको उनले विरोध गर्दै आएका छन् ।

प्रदेश नं ५ लाई टुक्राएर कैलालीदेखि बर्दियालाई एउटै बनाउने प्रस्ताव दाहालले राखेका छन् । मधेसी मोर्चाका मागलाई सम्वोधन गर्न दाहालले यस्तो प्रस्ताव राखेपनि मधेसी मोर्चाका नेता तथा प्रदेश नम्वर ५ निर्वाचन क्षेत्र रहेका हृदेश त्रिपाठी भने असन्तुष्ट देखिएका छन् ।

मधेसी मोर्चाका माग पूरा गर्न प्रधानमन्त्री प्रचण्डले प्रदेश नं ५ लाई टुक्राउने भएसँगै महामन्त्री कोइराला र माओवादी नेता टोपबहादुर रायमाझी विरुद्धमा उत्रिका छन् । विरोध जनाउन उनीहरु बालुवाटार बैठकमा नगएको स्रोतले बताएको छ । प्रदेश नं ५ लाई सत्तारुढ दल माओवादी र कांग्रेस टुक्राउन खोजे आन्दोलनमा उत्रिने चेतावनी उनीहरुले दिँदै आएका छन् ।

केही दिन अगाडि प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादर देउवाले प्रदेश नं ५ लाई टुक्राउने सहमति गरेपछि महामन्त्री कोइराला असन्तुष्ट भएका हुन् । उता माओवादी केन्द्रका नेता रायमाझीले प्रधानमन्त्रीलाई चुनौति दिइसकेका छन् । प्रदेश नं ५ लाई टुक्राइयो भने पार्टी अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डविरुद्ध युद्ध मैंदानमा उत्रिने चेतावनी दिइसकेका छन् ।

प्रकाशित मिति: ११ मंसिर २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्