कमल थापालार्इ प्रचण्डकाे अफर : संविधान संशाेधनमा सघाउनुस्, उपप्रधान सहित परराष्ट्र मन्त्री बन्नुस्, अब के गर्लान थापा ?


 


kamal-thapa-prachandकाठमाडाैं, मंसिर ११

संविधान संशोधन प्रस्ताव दर्ता र त्यसलाई पास गराउन संसदमा दुई तिहाई बहुमत पुर्याउने गृहकार्यमा लागेका सत्तारुढ दल काँग्रेस र माओवादी केन्द्रले राप्रपालाई उपप्रधानमन्त्रीसहित परराष्ट्रमन्त्रीको ‘अफर’ गरेका छन् । पार्टी एकतापछि प्रतिपक्षमा रहेको तत्कालिन राप्रपा नेपाल स्वतः सत्तापक्ष बनेको छ ।

काँग्रेस सभापति शेरबहादुर देउवासँगको परामर्शपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीपरिषद् विस्तार गरेर राप्रपा अध्यक्ष कमल थापालाई ‘पुरानै हैसियत’ मा सरकारमा आउन आग्रह गरेका छन् । यद्यपी यसवारे राप्रपाले ठोस निर्णय केही गरेको छैन । अनौपचारिक रुपमा आएको प्रस्तावमाथि राप्रपाभित्र अनौपचारिक छलफल चाहिँ सुरु भएको एक नेताले बताए ।

संविधान संशोधनमा एमालेको तीब्र विरोध रहिरहेको छ । यस्तो बेला संशोधन प्रस्ताव पारित गराउन सरकारले राप्रपाको सहयोग चाहेको छ । सोहि समर्थन खोज्नका लागि प्रधानमन्त्री प्रचण्डले राप्रपा अध्यक्ष थापासँगको अनौपचारिक छलफलमा सरकारमा सहभागि हुन प्रस्ताव गरेको स्रोतको दाबी छ ।

‘यसअघिको केपी ओली सरकारको पालामा थापाले पाएको हैसियतकै हाराहारीमा सरकारमा लिने प्रचण्डले प्रस्ताव गर्नुभएको हो’, प्रधानमन्त्री निकट स्रोतले भन्यो, ‘त्यो भनेको उपप्रधानमन्त्रीसहित आकर्षक मन्त्रालय दिने भन्ने हो ।’ केपी ओली नेतृत्वको सरकारमा तत्कालिन राप्रपा नेपालका अध्यक्ष कमल थापा उपप्रधानमन्त्रीसहित परराष्ट्रमन्त्री बनेको थिए भने रामकुमार सुब्बा भूमिसुधारमन्त्री बनेका थिए ।

यस्तै दुई राज्यमन्त्री र २ सहायक मन्त्री पनि ओली सरकारको पालामा राप्रपा नेपालबाट सरकारमा सहभागि थिए । त्यतिबेला २५ सिट रहेको कमल थापाको पार्टी अहिले एकतापछि ३७ सिट रहेको छ ।

अहिले राप्रपाको तर्फबाट विक्रम पाण्डे र दीपक बोहरा मन्त्री रहेका छन् । दुई राप्रपाबीचको एकतापछि प्रतिपक्षमा बसेको राप्रपा नेपाल स्वतः सरकारमा रहेको हो ।

संसदमा राप्रपाको ३७ सिट रहेको र संशोधन प्रस्ताव पारित गराउन दुई तिहाई पुर्याउने उद्देश्यसहित प्रधानमन्त्री प्रचण्ड राप्रपालाई आकर्षण स्थानसहित सरकारमा ल्याउने प्रयासमा रहेका बताइएको छ । त्यसका लागि कांग्रेस सभापति शेरबहादुर देउवाले समेत थापासँग अनौपचारिक कुराकानी गरिरहेको स्रोतको दाबी छ ।

माअाेवादी निकट अनलाइन राताेपाटीमा प्रकाशित समाचार अनुसार देउवाले थापासँगको अनौपचारिक छलफलका क्रममा संशोधन प्रस्ताव पारित गराउनको लागि सहयोग माग्दै सरकारमा पनि सहभागि हुन आग्रह गरेका थिए । उनले सरकारमा राप्रपाले थप मन्त्री पठाएको खण्डमा उपप्रधानमन्त्रीसहित परराष्ट्रमन्त्री दिन तयार रहेको बताएका थिए ।

अहिले परराष्ट्रमन्त्री देउवा निकटकै कांग्रेस नेता प्रकाशशरण महत रहेका छन् । देउवा र प्रचण्डले थापासँग निरन्तर छलफल गरिरहेको भएपनि उनले आफूहरु सत्तापक्ष भएपछि अहिले नै थप मन्त्री सरकारमा पठाउने पक्षमा रहेको जवाफ दिएको स्रोतको भनाई छ ।

थापाका सहगोगी तथा राप्रपाका केन्द्रीय सदस्य राजाराम बर्तौलाले पार्टीको ध्यान सरकारमा भन्दा पनि एकताको महाधिवेशन सम्पन्न गराउनेमा केन्द्रीत रहेको बताए । राप्रपाले संविधान संशोधन प्रस्तावको विरोध नगरेपनि समर्थन गर्ने या नगर्ने भन्नेबारेमा आधिकारिक धारणा बाहिर ल्याइसकेको छैन । यद्यपी उसले मधेसीको उचित मागको बेलैमा सम्बोधन हुनुपर्नेमा भने जोड दिँदै आएको छ ।

प्रकाशित मिति: ११ मंसिर २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्