पार्टी एकिकरणमा रहेका बाबुराम र उपेन्द्रले निकाले यस्ताे संयुक्त विज्ञप्ति


 


bigyaptiकाठमाण्डौ , मंसिर १३

नयाँ शक्ति पार्टी, नेपाल र संघीय समाजवादी फोरमले राष्ट्रिय समस्याहरूको ठोस समाधान हुने गरी संविधान संशोधन गर्नुपर्ने संयुक्त धारणा सार्वजनिक गरेको छ।

आज नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराई र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले संयुक्त रुपमा जारी गरेको वक्तव्यमा संविधान संशोधन गर्दा मधेसी, थारु, आदिवासी, जनजाति, खस, मुस्लिम, शिल्पी(दलित), उत्पीडित, उपेक्षित र अल्पसंख्यक समुदाय तथा पीछडिएका क्षेत्रलगायतका समस्याको सम्बोधण हुने गरी संविधान संशोधन हुनुपर्ने माग गरिएको छ।

जारी वक्तव्यमा भनिएको छ- “संविधान संशोधन गर्दा वर्गीय, जातीय, लैंगिक, भाषिक, सांस्कृतिक, धार्मिक र क्षेत्रीय भेद्भावहरुलाई अन्त्य गरिनु पर्दछ।

सो का लागि मधेशी, थारु, आदिवासी जनजाति, खस, मुश्लिम, शिल्पी (दलित), उत्पीडित, उपेक्षित र अल्पसंख्यक समुदाय तथा पिछडिएका क्षेत्र लगायतका समस्याहरुलाई सम्बोधन गर्न संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा, आदिवासी जनजाति राष्ट्रिय आन्दोलन, पहिचानमा आधारित गठबन्धन, संयुक्त प्रादेशिक मोर्चाहरु समेत सम्मिलित सङ्घीय गठबन्धनले उठाएका राष्ट्रिय मुद्दाहरु खासगरी-राष्ट्रिय पहिचानको मान्यता, अधिकारसहितको सङ्घीयता, पूर्ण समानुपातिक प्रतिनिधित्व हुने संसद्, जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति, राज्यका सबै अङ्गमा समानुपातिक समावेशीकरण, बहुभाषिक नीति, स्वायत्तता तथा स्वशासन, सङ्घीय न्यायपालिका, प्रादेशिक क्षेत्राधिकारभित्र स्थानीय तह तथा विशेष संरचनाहरु रहने व्यवस्था, सामाजिक न्याय र समानताको अधिकार आदि सबैखाले विभेदको अन्त्य हुने गरी नेपालको संविधानलाई संशोधनद्वारा सच्याउनु पर्दछ।”

वक्तव्यमा राष्ट्रिय मुद्दाहरूलाई सम्बोधन नहुने गरी गरिने संशोधनले मुलुकको समस्या समाधान हुन नसक्ने उल्लेख गरिएको छ।

वक्तव्यमा भनिएको छ- ‘यी महत्वपू्र्ण राष्ट्रिय मुद्दाहरूको सम्बोधन नै नहुने गरी गरिने संशोधनले समस्या समाधान हुन नसक्ने मात्रै नभइ संविधानको स्वीकारेक्ति र कार्यान्वयन पनि हुन सक्दैन।’ यसले देशमा शान्ति, स्थिरता र विकासको सट्टा मुलुकलाई थप द्वन्द्व, अन्यौलता र अस्थिरतातर्फ धकेल्ने काम मात्र गर्ने वक्तव्यमा उल्लेख छ।

नयाँ शक्ति पार्टी, नेपाल र संघीय समाजवादी फोरमबीच पार्टी एकता हुने चर्चाका बीच दुई पार्टीको संयुक्त वक्तव्य सार्वजनिक भएको हो।

प्रकाशित मिति: १३ मंसिर २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्