चिनियाँ इन्टरनेटबाट मेटिँदै पूर्वपरराष्ट्रन्त्री काङ


 


काठमाडाैं । चीनले गत मंगलबार परराष्ट्रमन्त्री परिवर्तन गर्‍यो। परराष्ट्रमन्त्री छिन काङलाई हटाएर उनको स्थानमा वाङ यीलाई फिर्ता ल्याउनुको कारण चीनले स्पष्ट पारेको छैन। यद्यपि परिवर्तनको संकेत भने केही साताअघि नै देखिएको थियो।

काङ लामो समयदेखि सार्वजनिक कार्यक्रममा देखिन छाडेका थिए। यस्तोमा प्रश्न उठ्नु स्वाभाविक थियो, कतै काङ पार्टीको कारबाहीमा त परेनन्? पदबाट हटाइनु कारबाही हो वा होइन? आधिकारिक रूपमा केही भनिएको छैन। स्वास्थ्य अवस्था ठिक नभएकाले उनी सार्वजनिक कार्यक्रममा नदेखिएको प्रस्टोक्तिचाहिँ आएको हो। अब चिनियाँ परराष्ट्र मन्त्रालयले दिएको यो प्रस्टोक्तिलाई कति विश्वास गर्ने? तर यतिचाहिँ पक्का हो, काङ मेटिँदैछन्।

चिनियाँ परराष्ट्र मन्त्रालयले आफ्नो वेबसाइटमा काङसँग सम्बन्धित सामग्री हटाएको छ। अमेरिकी अखबार वाल स्ट्रिट जर्नलका अनुसार काङलाई परराष्ट्रमन्त्रीका रूपमा उल्लेख गरिएका सामग्री हटाइएको हो।

कतिसम्म भने सामाजिक सञ्जाल विइबोमा काङलाई परराष्ट्रमन्त्री भनेर सम्बोधन गरिएका सामग्री मेटिएका छन्। चिनियाँ परराष्ट्र मन्त्रालयले आफ्नो आधिकारिक विइबो एकाउन्टबाट समेत काङलाई मेटेपछि अनेकथरी हल्ला चल्ने नै भए। यसबीचमा विइबोमा विभिन्न किसिमका टिप्पणी भइरहेका छन्। ‘के काङ कहिल्यै परराष्ट्रमन्त्री बनाइएका थिएनन् त? विइबोमा समेत यसो गरिनु त ठिक भएन’, एक चिनियाँले लेखेका छन्।

५७ वर्षीय काङले सात महिनाभन्दा कम समय चिनियाँ परराष्ट्र मन्त्रालय हाँक्न पाए। जब उनी परराष्ट्रमन्त्री बन्दै थिए, त्यसबेला उनलाई भाग्यमानी नेता भनिँदै थियो। किनभने कैयौँ अनुभवी नेतालाई उछिनेर उनलाई परराष्ट्र मन्त्रालयको जिम्मेवारी दिइएको थियो। राष्ट्रपति सी चिनफिङको रोजाइमा परेपछि उनीमाथि खुलेर प्रश्न उठेन। यद्यपि उनको यो तीव्र उदय सामान्य खालको चाहिँ थिएन।

सीको विश्वासपात्र भएकै कारण चिनियाँ राजनीतिमा छलाङ मारेका काङ किन चिनियाँ इन्टरनेटबाट मेटिँदैछन्? यसको उत्तर पाउन गाह्रो छ। तर यति अनुमान गर्नचाहिँ सजिलो छ, बिरामी परेकै कारण कुनै नेताको अनलाइन रेकर्ड हटाइँदैन।

‘बिरामी परेका कारण काङलाई मन्त्री पदबाट हटाइनु असामान्य नलाग्ला। तर उनलाई चिनियाँ इन्टरनेटबाट मेटिनु स्वाभाविक होइन’, चीनसम्बन्धी शोध गर्ने अमेरिकी संस्था चाइना मिडिया प्रोजेक्टका डेभिड बान्डुर्स्कीले भनेका छन्।

काङका विषयमा विदेशी पत्रकारहरूले बेइजिङमा जिज्ञासा राखिरहेका छन्। बुधबारको पत्रकार सम्मेलनमा काङ सम्बन्धित सामग्री वेबसाइटबाट हटाइएको विषयमा पनि सोधियो। प्रवक्ता माओ निङले हलुका जवाफ दिइन्, ‘वेबसाइट अपडेट भइरहेकाले पुराना सामग्री हटेका हुन सक्छन्।’

चीनले परराष्ट्रमन्त्री यस्तो बेला परिवर्तन गरेको छ जतिबेला अमेरिकासँग उच्च तहको संवाद सुरु भएको छ। यो संवादलाई अब ६९ वर्षीय अनुभवी कूटनीतिज्ञ वाङ यीले सम्हाल्नेछन्। वाङ चीनका सबैभन्दा उच्च तहका कूटनीतिज्ञ हुन्। जो लामो समय परराष्ट्रमन्त्री पनि रहे। नयाँ परराष्ट्रमन्त्री नियुक्त नहुन्जेल उनले पुरानो भूमिका पनि निर्वाह गर्नेछन्।

चीनमा भएको परिवर्तनबारे अमेरिकी परराष्ट्रमन्त्री एन्टोनी ब्लिन्केनले सामान्य टिप्पणी गरेका छन्। उनले काङलाई स्वास्थ्यलाभको कामना गर्दै वाङसँग सहकार्य गर्न आफू इच्छुक रहेको बताएका छन्।

‘वाङलाई चिनेको एक दशक भइसक्यो। म उनीसँग काम गर्न तयार छु। विगतमा पनि हामीबीच सम्बन्ध राम्रो थियो। अब पनि सम्बन्ध न्यानो नै रहने विश्वास छ’, एसिया प्रशान्त क्षेत्रको देश टोंगा भ्रमणमा रहेका ब्लिन्केनले भनेका छन्।

लामो समय चीन र अमेरिकीबीच संवादहीनताको अवस्था थियो। तर पछिल्लो समय भने संवादको प्रयास भएको छ। ब्लिन्केन आफैँ गत जुनमा चीन पुगेका थिए। दुई देशबीचको सम्बन्ध सामान्य बनाउने प्रयास चीनले परराष्ट्रमन्त्री परिवर्तन गर्दा ओझेलमा पर्छ कि भन्ने डर यतिबेला व्यक्त भइरहेको छ। तर कतिपय विश्लेषकहरू यो परिवर्तनको असर नहुने बताउँछन्।

यसको मुख्य कारण राष्ट्रपति सी हुन्। चीनको विदेश नीति सीबाट निर्देशित हुन्छ। यद्यपि परराष्ट्रमन्त्री परिवर्तनले एउटा प्रस्ट सन्देश भने दिएको छ। त्यो हो, चिनियाँ नीति भने झन् अस्पष्ट हुँदै गइरहेको छ।

वाङलाई परराष्ट्रमन्त्रीका रूपमा फर्काउन गत मंगलबार सीले आकस्मिक बैठक बोलाएका थिए। उनलाई परराष्ट्रमन्त्रीमा पुनः नियुक्त गर्दा काङका विषयमा भने केही जानकारी दिइएन।

चिनियाँ परराष्ट्र मन्त्रालयको वेबसाइटमा काङबारे केही सामग्री भेटिँदैन। यद्यपि वेबसाइटमा एउटा विज्ञप्तिमा भने बाँकी छ, जहाँ उनलाई परराष्ट्रमन्त्रीका रूपमा सम्बोधन गरिएको छ। गत मार्चको विज्ञप्ति चीन र होन्डुरसबीच कूटनीतिक सम्बन्ध स्थापनाका विषयमा आधारित छ।

चीनको घरेलु सामाजिक सञ्जाल विच्याटमा सर्च गर्दा भने काङ परराष्ट्रमन्त्री रहेको बेलाका केही सामग्री भेटिन्छ। रोचक के छ भने काङ राज्यमन्त्री र अमेरिकाका लागि राजदूत भएको बेलाका समाचार सामग्री भने विदेश मन्त्रालयको वेबसाइटबाट हटाइएको छैन।

परराष्ट्रमन्त्रीबाट हटाइएको भए पनि काङको स्टेट काउन्सिलर (क्याबिनेट सदस्य) को पद कायमै छ। चिनियाँ क्याबिनेटको वेबसाइटमा काङको मन्त्री पद उल्लेख छैन। उनको केन्द्रीय समिति सदस्यको पद पनि सुरक्षित छ।

प्रकाशित मिति: १३ श्रावण २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्