आज विश्व एड्स दिवस


 


aidsकाठमाण्डौ , मंसिर १६

आज डिसेम्बर १ तारिख, विश्व एड्स दिवस, विश्वभर जनचेतनामूलक कार्यक्रमको आयोजना गरी मनाइँदैछ। ‘हामी सबैको काम, एचआईभीको रोकथाम’ भन्ने नाराका साथ नेपालमा पनि एड्स दिवस मनाइँदैछ।

एचआइभी एड्स सम्बन्धी प्रभावकारी रोकथाम, हेरचाह, सहयोग तथा उपचार सेवाको लागि विश्वव्यापी ध्यानाकर्षण गर्दै बृहत रुपमा जनचेतना जगाउने र भावी कार्यक्रमको बहुपक्षीय संलग्नता र सहभागिता बढाउने अभिप्रायले सन् १९८८ देखि विश्व एड्स दिवस मनाउने गरिएको हो।

पछिल्लो समय नेपालमा एचआईभी/एड्सबाट संक्रमित हुनेहरूको संख्या घट्दै गएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार एचआइभीको नयाँ संक्रमणलाई ८० प्रतिशतले र एड्सबाट हुने मृत्युलाई २२ प्रतिशतले कमी आएको छ।

स्वास्थ्य मन्त्रालय राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रका निर्देशक डा. तरुण पौडेलले विगत देखिको एचआइभी/एड्समा भएको जनचेतनाले गर्दा एड्सप्रति मानिसको धारणा बदलिएको बताए।

उनले नेपालमा सन् २०१० को तुलनामा १४६ प्रतिशतले एआरभी (औषधि सेवन गर्नेको) पहुँच बढेको बताउँदै हाल नेपालमा करिब ३९ हजार ३ सय ९७ जनामा एचआइभी संक्रमण रहेको अनुमान गरिएको जानकारी दिए।

एचआईभीबाट संक्रमण हुनेमा पुरुषको संख्या २४ हजार ४ सय ४९ र महिलाको संख्या १४ हजार ९ सय ४८ रहेको छ। नेपालमा वयस्क १५ देखि ४९ वर्षसम्मका उमेरमा ०.२ प्रतिशत एचआइभी दर रहेको जानकारी पनि डा. पौडेलले दिए।

डा. पौडेलका अनुसार सन् २००० को तुलनामा विश्वभर ३५ प्रतिशतले एड्सको संक्रमण दर घटेको छ भने बच्चाहरुमा हुने संक्रमण दरमा ५८ प्रतिशतले कमी आएको छ।

सन् २००७ मा एचआईभी लाग्नेको संख्या नेपालमा ७० हजार ७ सय थियो भने सन् २००९ सम्ममा त्यो संख्या घटेर ६३ हजार ५ सय २८ मा झरेको छ।

राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको तथ्याङ्क अनुसार नेपालमा सन् २००९ सम्ममा दर्ता भएका एड्स रोगीहरुको संख्या १६ हजार २ सय ६२ रहेको छ।

डा. पौडेलका अनुसार वैदेशिक रोजगारीको सिलसिलामा नेपालबाट कामदारको रुपमा जाने पुरुषहरुमा बढी एचआईभी संक्रमण भएको पाइन्छ।

मुख्यतया सुदुरपश्चिम र मध्यपश्चिमका जिल्लाहरुबाट छिमेकी मुलुक भारतमा काम गर्न जाने र उनीहरुमध्ये अधिकांशले एचआईभी लिएर फर्किएका हुन्छन्।

अशिक्षा र अज्ञानता नै एचआईभीको मुख्य कारण रहेको बताउँदै उनले भने- “गाँउभन्दा शहरी क्षेत्रमा एचआईभीको संक्रमण बढ्दो छ।”
केन्द्रका अनुसार हाल विश्वमा ३ करोड ३३ लाख मानिसमा एचआईभी संक्रमित रहेको छ।

नेपालमा सन् १९८८ मा पहिलो पटक एचआईभी भित्रिएको हो। निर्देशक डा. पौडेलले एड्स रोग नियन्त्रणको लागि सबैले आ-आफ्नो क्षेत्रबाट काम गर्नुपर्ने बताए।

प्रकाशित मिति: १६ मंसिर २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्