बन्दकर्ताद्धारा बुटवलमा गाडी तोडफोड


 


bandaकाठमाडौं, मंसिर १६

प्रदेश नम्बर ५ का पहाडी जिल्लालाई अलग गर्नेसहितको संविधान संशोधन प्रस्तावको विरोधमा बिहीबारपनि पश्चिम नेपालका ४ वटा जिल्ला बन्द गरिएको छ।

संविधान संसोधन प्रस्ताव फिर्ता लिन माग गर्दै रुपन्देही, पाल्पा, गुल्मी र अर्घाखाँची जिल्ला अनिश्चितकालीन बन्द आह्वान गरिएको छ।

विभिन्न समूहले गरेको बन्दका कारण यी जिल्लाहरुको जनजीवन अस्तव्यस्त भएको छ।

पूर्व-पश्चिम राजमार्ग र सिद्धार्थ राजमार्गको लुम्बिनी अञ्चल खण्डमा गाडी चल्न सकेका छैनन्। रुपन्देहीमा बन्दकर्ताहरु आक्रामक भएका छन्।
रुपन्देहीको बुटवलमा ३ वटा गाडीमा तोडफोड भएको छ।

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार बुटवल मिलनचोकमा भारतीय नम्बर प्लेटको एचआर ०५ भी ००६३ नम्बरको कार तोडफोड गरेका छन्।

यस्तै बुटवलकै नेपालगञ्ज रोडमा कपिलवस्तुबाट बिरामी लिएर आउँदै गरेको लु १ च ६९०२ नम्बरको मारुती भ्यान तोडफोड गरेका छन्।

प्रदर्शनकारीले बुटवलमै लु ९ प ३३९९ नम्बरको मोटरसाइकल तोडफोड गरेका छन्। प्रदर्शनकारीले बुटवलका ठाउँठाउँमा प्रदर्शन गरिरहेका छन्।

नेतृत्वबिहीन प्रदर्शनकारीले भित्री सडकहरुमा खुलेका पसलहरु बन्द गराउँदै हिड्दा प्रहरीलाई नियन्त्रणमा लिन समस्या परेको इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी मुकुन्द मरासिनीले बताए।

प्रकाशित मिति: १६ मंसिर २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्