भारतमा सैन्य ड्रोन उत्पादन गर्ने कम्पनीले चिनियाँ पार्टपुर्जाको प्रयोग गर्न नपाउने


 


नयाँ दिल्ली । भारतमा सैन्य ड्रोन उत्पादन गर्ने कम्पनीहरुले चिनियाँ पार्टपुर्जाको प्रयोग गर्न नपाउने भएका छन् । सुरक्षा जोखिमलाई मध्यनजर गर्दै भारतले सैन्य ड्रोनमा चिनियाँ पार्टपुर्जाको प्रयोगमा प्रतिबन्ध लगाएको हो ।

पछिल्लो समय भारतले सेनालाई थप सक्षम र सुदृढ बनाउने प्रयास गरिरहेको छ । चीनसँगको सम्बन्धमा सुधार आउन नसकेको अवस्थामा भारतले सैन्य ड्रोनमा चिनियाँ पार्टपुर्जाको प्रयोगमा प्रतिबन्ध लगाएको हो ।

सैन्य ड्रोनको सञ्चार कार्य, क्यामेरा, रेडियो प्रसारण र अपरेटिङ सफ्टवेयरमा चीनमा निर्मित पार्टपुर्जा राख्नाले सुरक्षा संवेदनशीलता जोखिममा पर्नसक्ने भारतीय सुरक्षा अधिकारीको चिन्ता छ ।

भारतीय अखबार अमर उजालाका अनुसार भारतीय सुरक्षा अधिकारीहरु यस्ता ड्रोनमा स्वदेशी पार्टपुर्जाको प्रयोग गर्दा लागत बढ्नसक्ने भएपनि त्यसलाई स्वीकार गर्ने पक्षमा छन् ।

यसअघि अमेरिकी रक्षा प्रशासन पेन्टागनले पनि चीनमा बनेका ड्रोन र ड्रोनका कम्पोनेन्टको खरिदमा प्रतिबन्ध लगाएको थियो।

प्रकाशित मिति: २ भाद्र २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्