४२ चिनियाँ लडाकु विमान आफ्नो हवाई क्षेत्रमा प्रवेश गरेको ताइवानको आरोप


 


एजेन्सी । सैनिक अभ्यासका क्रममा ४० भन्दा बढी चिनियाँ लडाकु विमान आफ्नो हवाई सुरक्षा क्षेत्रमा प्रवेश गरेको ताइवानले आरोप लगाएको छ । यसमध्ये २६ वटा चिनियाँ लडाकुले विमान ताइवान स्ट्रेटको रेखा पार गरेको ताइवानको रक्षा मन्त्रालयले जानकारी दिएको हो ।

ताइवानको आसन्न निर्वाचनमा प्रभाव पार्न बेइजिङले यस्तो हरकत गरेको मन्त्रालयले आरोप लगाएको छ । उता चिनियाँ सरकारी सञ्चारमाध्यमले भने युद्धको अवस्थामा लड्न सक्ने क्षमता जाँच्नका लागि अभ्यास गरिएको जनाएको छ ।

जनमुक्ति सेनाले शनिबार ताइवाननिकट टापुमा हवाई, जल र स्थल सेनाको संयुक्त अभ्यास गरेको थियो । यो अभ्यास ताइवानको स्वतन्त्रताका लागि प्रयासरत पृथकतावादी विदेशी शक्तिका लागि चेतावनी भएको सेनाका प्रवक्ता सी यीले स्पष्ट पारेका छन्।

हालै ताइवानका उपराष्ट्रपति विलियम लाई अमेरिका पुगेपछि चीन रुष्ट बनेको थियो । लाई आगामी जनवरीमा हुने राष्ट्रपतीय निर्वाचनका प्रमुख दाबेदार हुन् । गत वर्ष अमेरिकी संसद्की सभामुख नान्सी पेलोसी ताइवान पुगेपछि पनि चीनले सैनिक अभ्यास गरेको थियो ।

प्रकाशित मिति: ३ भाद्र २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्