लम्पी स्किनबाट १३ लाख गाइवस्तु संक्रमित


 


काठमाडौं । यस वर्ष किसानलाई सबैभन्दा बढी पीडा दिएको लम्पी स्किन रोग नियन्त्रण गर्न सरकार अझै सफल हुन सकेको छैन ।

लम्पी स्किन रोगका कारण गाइगोरु थला परेपछि किसानले समयमा धान रोपाइँसमेत सिध्याउन सकेनन् । पहिलोपटक २०७७ असार महिनामा मोरङको सुन्दरहरैचा नगरपालिकामा गाईमा देखापरेको लम्पी स्किन रोगको संक्रमण मुलुकभरि फैलिएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार पाँच महिनाको अवधि संक्रमित पशु संख्या १३ लाख ५ हजार ३ सय ६१ पुगेको छ । अझै पनि १ लाख ७५ हजार ५ सय ५३ रहेको छ ।

किसानको जीवनपद्धतिसँग गाँसिएका पशु बिरामी हुँदा पनि राज्य भने गम्भीर हुन सकेको छैन भने राज्य संयन्त्र पनि पशु मरेको त हो नि भनेर उदासीन हुने गरेको आरोप किसानको छ ।

यद्यपि, अहिलेसम्म उपचारपश्चात् निको भएको पशुको संख्या भने १० लाख ८२ हजार १ सय ५९ पुगेको छ । हाल सक्रिय संक्रमणबाट ४७ हजार ६ सय ४९ पशुको मृत्यु भइसकेको छ ।

ती पशुको मृत्युबाट किसानको करोडौं नोक्सानी भएको छ । एउटा पशुको मूल्य नै ५० हजारभन्दा बढी पर्ने र अन्य कृषि उत्पादनसँग जोडिने भएकाले किसान मर्माहत भएका छन् । अधिकांश कृषकको पशु बिमा नभएका कारणले पनि पीडा भएको हो ।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।

प्रकाशित मिति: ४ भाद्र २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्