नेपाल–चीन सैन्य अभ्यास अनिश्चित


 


काठमाडौँ । कोभिड–१९ का बेला रोकिएको नेपाल–चीन सैन्य अभ्यास फेरि सुरु हुन सकेको छैन ।

नेपाल–भारत र नेपाल–अमेरिका सैन्य अभ्यास सुरु भएको एक वर्ष बितिसक्दासमेत चीनसँग ०७४ देखि हुँदै आएको ‘सगरमाथा मित्रता’ संयुक्त सैन्य अभ्यास भने सञ्चालन हुन नसकेको हो ।

दोस्रो संस्करणको नेपाल–चीन सैनिक अभ्यास छेन्दुमा भए पनि कोभिड–१९ का कारण रोकिएको तेस्रो संस्करणको अभ्यास हुन सकेको छैन ।

नेपाली सेनाले कोभिड–१९ को खोप उपलब्ध भएपछि र दोस्रो लहर सकिएपछि भारत, अमेरिका र चीनसँग सैन्य अभ्यास गर्नका लागि पत्राचार गरेको थियो । त्यसपछि भारत र अमेरिकाले संयुक्त सैनिक अभ्यास गरिसके पनि चीनले लामो समयसम्म पत्रको जवाफ पठाएको छैन ।

सैनिक प्रवक्ता तथा सहायक रथी कृष्णप्रसाद भण्डारीले नेपाल–चीन सैन्य अभ्यास फेरि गर्ने विषयमा टुंगो लागिनसकेको जानकारी दिए ।

‘कोभिड–१९ पछि भारत र अमेरिकासँग सैन्य अभ्यास भइसकेको छ तर चीनबाट कुनै सन्देश प्राप्त भएको छैन, कहिले सुरु हुन्छ भन्न सकिन्न,’ उनले कान्तिपुरसँग भने, ‘पढाइ, तालिमलगायत अन्य विषय फेरि सुरु भइसकेको छ तर संयुक्त सैन्य अभ्यासबारे टुंगो लागेको छैन ।’

चिनियाँ जनमुक्ति सेना (पीएलए) अन्तर्गत तिब्बती मिलिटरी कमान्डका मेजर जनरल लुई एन्डेले गत बुधबार नेपाल भ्रमण गरेका थिए । उक्त टोली आइतबार फर्कियो । भ्रमणका दौरान लुईले प्रधानसेनापति प्रभुराम शर्मालाई पनि भेटेका थिए । त्यस अवसरमा दुई पक्षीय हित तथा आपसी चासोका विषयमा छलफल भएको भण्डारीले बताए ।

आठ सदस्यीय सीमा सुरक्षा प्रतिनिधि टोलीको नेतृत्व गर्दै आएका मेजर जनरल लुईले सीमा मामिलाको विषयमा कुराकानी गरेका थिए तर संयुक्त सैनिक अभ्यासलगायत मामिला बेइजिङको रहेकाले उनले त्यसबारे केही बोलेनन् ।

साउन १४ मा पीएलए स्थापनाको ९६ वर्ष पुगेको उपलक्ष्यमा काठमाडौंमा नेपालस्थित चिनियाँ दूतावासले कार्यक्रम गरेको थियो । कार्यक्रममा प्रधानसेनापति शर्मा पनि सहभागी थिए । नेपालका लागि चिनियाँ राजदूत छन सोङ र प्रधानसेनापति शर्माले आ–आफ्नो सम्बोधनका क्रममा दुई मुलुकबीचको सैनिक सम्बन्ध तथा संयुक्त अभ्यासबारे चर्चा गर्दै सैनिक सम्बन्धलाई जोड दिने बताएका थिए । तर सैनिक अभ्यास हुन सकेको छैन ।

नेपालले सन् २०१७ मा चिनियाँ जनमुक्ति सेनासँग नेपाल–चीन ‘सगरमाथा मैत्रीपूर्ण’ संयुक्त सैनिक अभ्यास थालेको थियो । त्यसको पहिलो संस्करण नेपालमा भयो भने दोस्रो संस्करण सन् २०१८ मा चीनको छेन्दुमा भएको थियो ।

नेपाली सेनाले भारतीय, अमेरिकी र चिनियाँ सेनासँग विपद् व्यवस्थापनको समयमा उद्धार र स्वास्थ्योपचारलगायत प्रतिविद्रोह तथा प्रतिआतंकवादजस्ता विषयमा सैन्य अभ्यास गर्दै आइरहेको छ । सेनाहरूबीच संयुक्त अभ्यासमा फौजहरूले प्रतिविद्रोह तथा प्रतिआतंकवादलगायत जंगलमा गर्नुपर्ने युद्धकला र विपद् व्यवस्थापनसम्बन्धी सैद्धान्तिक ज्ञानबारे व्यावहारिक रूपमा अभ्यास हुने गर्छ । संयुक्त अभ्यासमा नेपाली सेना र अन्य मुलुकका सेनाबीच सैद्धान्तिक, व्यावहारिक र विशेष अनुभवहरूको आदानप्रदान गरिरहेको सेनाले जनाएको छ ।

अमेरिकी सेनाको विशेष फोर्स र नेपाली सेनाको महावीर बटालियनबीच सन् २०१५ को सेप्टेम्बरदेखि ‘ब्यालेन्स नेल’ नाममा संयुक्त अभ्यास सुरु भएको हो । सेनाका अनुसार ब्यालेन्स नेलको संयुक्त अभ्यास शृंखलामा भ्रमण आदानप्रदान र प्रशिक्षण कार्यक्रमहरू भने सन् १९९० पछि नै हुन थालेको हो । नेपाली सेनाले सन् २०११ देखि भारतसँग ‘सूर्य किरण’ नाम संयुक्त अभ्यास गर्दै आइरहेको छ भने अमेरिकासँग विपद् व्यवस्थापनको क्षेत्रमा संयुक्त अभ्यास गर्दै आएको छ । सभार कान्तिपुर दैनिकबाट

प्रकाशित मिति: ४ भाद्र २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्