संविधान संशाेधनमा भारतले केे भन्याे ?


 


india flagकाठमाडौं, मंसिर १९

भारतले नेपालको संविधान संशोधनका लागि संसदमा विधेयक पेश हुनुलाई एउटा महत्वपूर्ण कदम भनेको छ ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ताको भनाइ उधृत गर्दै नेपालस्थित भारतीय दूतवासले संविधान संशोधनको विधेयक आएसँगै सबै पक्ष यसमा समेटिने आशा व्यक्त गरेको छ ।

दूतावासले यो विधेयक सफलतापूर्वक निष्कर्षमा पुग्ने अपेक्षा गरेको छ । नेपालको एक निकट छिमेकी हुनुको नाताले भारत यहाँको शान्ति, स्थिरता र विकासप्रति सधैं सहयोगी रहेको समेत दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यसअघि शनिवारमात्रै भारतीय राजदूत रणजित रायले मधेसी मोर्चाका शीर्ष नेताहरुलाई दूतावासमै बोलाएर दिवाभोज दिएका थिए । उनले मोर्चाका नेताहरुलाई सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन विधेयक पारित गर्न सुझाव दिएका थिए ।

त्यसलगत्तै प्रधानमन्त्री प्रचण्डलाई भेटेका राजदूत रायले एमाले बाहेक पनि संसदमा दुई तिहाई बहुमत पुर्‍याउन मधेसी मोर्चाले सघाउने आश्वासन दिएको स्रोतले जनाएको छ ।

भारतले नेपालको संविधान अझै समावेशी हुन नसकेको भन्दै स्वागत गरेको छैन । उसले असन्तुष्ट सबैलाई समेटिने गरी संशोधन गर्न सुझाव दिँदै आएको छ ।

प्रकाशित मिति: १९ मंसिर २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्