सुन ९ महिनायताकै सस्तो ,आज पनि घट्यो मुल्य


 


gold logoकाठमाडौँ, मङ्सिर २०

विगत केही दिन प्रतितोला ५४ हजार रुपैयाँमा रहेको सुनको मूल्य सोमबार पुनः ओर्लिएको छ। यस दिन २ सय रुपैयाँले घटेर ५३ हजार ८ सय रुपैयाँमा कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यो मूल्य २०७२ साल फागुनयताकै सस्तो हो।  फागुन २५ गते प्रतितोला ५३ हजार रुपैयाँमा सुनको कारोबार भएको महासंघले जनाएको छ।

त्यसपछि ५४ हजार रुपैयाँ नाघेको सुनको मूल्य २०७२ साल चैत २२ र २३ गते पुनः प्रतितोला ५३ हजार ८ सय रुपैयाँमै कारोबार भएको थियो।

मुद्रास्फितिलाई पनि आधार मान्दा फागुन २५ गतेयताकै सस्तोमा सुनको मूल्य कायम भएको हो। चाँदीको मूल्य भने गत शुक्रबारदेखि नै स्थिर छ।

महासंघका अनुसार प्रतितोला ७ सय ८५ रुपैयाँमा चाँदीको कारोबार भइरहेको छ।

अन्तर्राष्ट्रिय बजारअनुसार महासंघले नेपालमा सुनचाँदीको मूल्य समायोजन गर्ने गर्दछ। खरिदभन्दा पूर्ति बढी हुँदा अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घट्ने गर्दछ।

पछिल्लो समय डलरको मूल्य पनि मजबुत रहनु र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्याजदर बढाउने चर्चा चल्दा लगानीकर्ता सुन बिक्रीतर्फ लागेका छन्। जसले गर्दा अन्तर्राष्ट्रिय बजारमा सुनको पूर्ति बढ्न गएको हो।

अर्कोतर्फ तेल उत्पादन सदस्य राष्ट्रहरुके संस्था ओपेकले कच्चा तेलको उत्पादन कटौती गर्ने निर्णय गरेका छन्। निरन्तर मूल्य ओर्लिएपछि ओपेकको यो निर्णयले सुनको मूल्यमा समेत प्रभाव पारेको विश्लेषण गरिएको छ ।

 

प्रकाशित मिति: २० मंसिर २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्