रियल मड्रिड उपविजेतामा सिमित


 


काठमाण्डौ , मंसिर २३
जर्मन क्लब बोरुसिया डर्टमुण्डले साबिक विजेता स्पेनिस क्लब रियल मड्रिडलाई बराबरीमा रोक्दै च्याम्पियन्स लिग अन्तर्गत समूह एफको विजेता बनेको छ । रियल मड्रिडको मैदान बर्नाबेउमा भएको खेलमा घरेलु टोलीले आफ्नो अग्रता जोगाउन सकेन र समूह उपविजेतामा सीमित भयो ।

बोरुसिया डर्टमुण्डले रियल मड्रिडलाई २–२ को बराबरीमा रोकेको हो । रियलका लागि दुवै गोल करिम बेन्जिमाले गरे । बोरुसिया डर्टमुण्डका लागि पिएर एमरिक र मार्को रेउसले गोल गरे । रियलका लागि समूह विजेता बन्न जित आवश्यक थियो भने डर्टमुण्डका लागि बराबरी भए पुग्थ्यो । २८ औं मिनेटमा बेन्जिमाले गोल गरेपछि पहिलो हाफमा रियल मड्रिडले १–० को अग्रता लियो ।

५३ औं मिनेटमा बेन्जिमाले व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता दोब्बर पारे । तर त्यसपछि रियलले दुई गोल खायो र समूह विजेता हुनबाट चुक्यो । ६० औं मिनेटमा बोरुसियाका पिएर एमरिकले गोल गरेपछि खेल २–१ को अवस्थामा आयो । ८८ औं मिनेटमा रेउसले बोरुसियाका लागि बराबरी गोल गरेर र टिमलाई समूह विजेता बनाए ।

समूह विजेता बनेको बोरुसिया डर्टमुण्डको १४ तथा उपविजेता बनेको रियल मड्रिडको १२ अंक छ । बोरुसियाले च्याम्पियन्स लिगको समूह चरणमा २१ गोल गरेर कीर्तिमान पनि बनाएको छ । यस्तै समूह एफ अन्तर्गत राति नै भएको खेलमा लेगिया वार्साले स्पोर्टिङलाई १–० ले हरायो ।

प्रकाशित मिति: २३ मंसिर २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्