सोलिडारिटी कप विजेतालाई जनही तीन लाख


 


काठमाडौँ २४ मङ्सिर

अखिल नेपाल फुटबल सङ्घ(एन्फाले) एएफसी सोलिडारिटी कप विजेता नेपाली राष्ट्रिय टोलीका खेलाडीलाई जनही रु तीन लाख प्रदान गर्ने जनाएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बसेको एन्फा कार्यसमिति बैठकले विजेता टोलीका सदस्यलाई नगद पुरस्कारसहित सम्मान गर्ने निर्णय गरेको हो ।

मलेसियामा सम्पन्न सोलिडारिटी कप फाइनलमा मकाउलाई हराउँदै नेपालले पहिलो पल्ट एएफसीले आयोजना गरेको प्रतियोगिताको उपाधि जितेको थियो ।

त्यस्तै कार्यसमिति बैठकले एन्फाको वरिष्ठ उपाध्यक्षमा मणि कुँवरलाई मनोनीत गरेको छ । बैठकले उपाध्यक्ष कुँवरलाई वरिष्ठ उपाध्यक्षमा मनोनीत गरेको हो । उहाँ गत ८ कात्तिकमा निर्वाचनबाट उपाध्यक्षमा विजयी हुनुभएको थियो ।

त्यसपछि रिक्त रहेको उपाध्यक्षमा सिन्धुपाल्चोक जिल्ला फुटबल सङ्घका अध्यक्ष वीरबहादुर खड्का मनोनीत हुनुभएका छन् । एन्फाले २०१७ मा हुने चुनावका लागि विधान संशोधन प्रस्ताव तयार पार्न कुँवरको नेतृत्वमा समिति बनाएको छ ।

बैठकले थ्रीस्टार क्लब एएफसी क्लब च्याम्पियनसिपको प्लेअफ खेल्नबाट वञ्चित भएको बारे छानबिन गर्न वीरबहादुर खड्का, रमेश रायमाझी र सञ्जीव मिश्र सम्मिलित समिति गठन गरेको छ ।

प्रकाशित मिति: २५ मंसिर २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्