एन्फासँग थ्री स्टारले माग्यो ६ करोड


 


काठमाडौं मंसीर २८

नेपाली फुटबलमा सर्वा्धिक लोकप्रिय क्लब थ्री स्टार क्लवले अखिल नेपाल फुटबल संघ (एन्फा) सँग ६ करोड क्षतिपूर्ती माग गरेको छ ।

एन्फाको कमजोरीका कारण एसियाको प्रतिष्ठित क्लब फुटबल प्रतियोगिता एएफसी कप २०१६ को छनोट प्ले–अफ खेल्नबाट वञ्चित भएपछि थ्री स्टारले क्षतिपूर्ती मागेको हो ।

उसले सो खेल गुमाउदा आफ्नो क्लबलाई ठुलो क्षति भएकोले ६ करोड क्षतिपूर्ती र सो घटनाबारे अनुसन्धान गरि दोषिमाथि कार्वाहिको माग गरेको छ ।

मंगोलियामा भएको एएफसीकपको प्रारम्भिक छनोट खेलेको थ्री स्टारले समुह विजेता बन्दै प्ले अफ खेल्ने अवसर पाएपनि एन्फाको कारण खेल्नबाट बन्चित हुनपुग्यो ।

एन्फाको लापरवाहिका कारण एएफसीले थ्री स्टारलाई प्रतियोगिता प्ले अफ खेल्ने टिमको सूचीबाट हटाएर दोस्रो स्थानमा रहेको मंगोलीको ईर्चिम क्लवलाई खेलमा समावेश गरेको थियो ।

एएफसीले समय सीमा बढाएर अवसर दिंदा पनि एन्फाले समयमै आवश्यक ‘डकुमेन्ट्स’ सहित थ्री स्टारको नाम नपठाएपछि उसले खेल गुमाउन पुग्यो । क्षतिपूर्ती नपाए थ्री स्टारले कुनैपनि खेल नखेल्ने समेत जनाएको छ ।

नेपाली फुटबल क्षेत्रका सरोकारवालाले पनि पूरा घटनाक्रमलाई यस खेल इतिहासमै अहिलेसम्मकै सबैभन्दा ठूलो दुर्घटनामध्ये एक मानेका छन् ।

थ्री स्टारले पहिलो चरणको छनोट खेल्न मात्र ६० लाख रुपैंया खर्च गर्नुका साथै पूरा टिमलाई पारिश्रमिक दिएर राखेको थियो ।

यसअघि एन्फाले नै पनि घटनाको छानविनका लागि आयोग गठन गरेको छ । यसबारे थ्री स्टारलाई दिएको जानकारीमा एन्फाले आफ्नो सचिवालयको तर्फबाट गम्भीर भुल भएको स्विकारेको छ ।

प्रकाशित मिति: २८ मंसिर २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्