श्लोकवाचिका सरु गुरागाईं क्यान्सर रोगबाट पूर्णरुपमा मुक्त


 


काठमाडौं । श्लोकवाचिका सरु गुरागाईं क्यान्सर रोगबाट पूर्णरुपमा मुक्त भएकी छन् । उनको सबै उपचार सफल भएको श्रीमान मुरारी गुरागाईंले जानकारी दिएका हुन् ।

अमेरिकामा बस्दै आएकी सरुलाई थाइराइडको क्यान्सर भएको थियो । एक वर्षअघि थर्ड स्टेजको क्यान्सर देखिएपछि उनको अमेरिकामै उपचार भएको हो ।

सुरुको चरणमा सर्जरीमार्फत घाँटी वरिपरि र थाइरोइडमा भएका क्यान्सरका टिस्यूहरु निकालिएको थियो । दोस्रो चरणमा अक्टोबरबाट रेडियसन पद्दतिबाट उपचार भएको मुरारीले जानकारी दिएका छन् । यो प्रक्रिया पनि अब पूरा भएको उनको भनाइ छ ।

मुरारीले फेसबुकमा लेखेका छन्, ‘करिब एक वर्ष लामो उपचारपछि आज तिमी क्यान्सर मुक्त भएकी छौ । रोगभन्दा यसको उपचार धेरै कठिन रहेछ । आज यो सबै प्रक्रिया पूरा भएको छ । १० दिनको पूर्ण आइसोलेसन समाप्तिसँगै तिमी पूर्ण स्वस्थ भएकी छौ ।’

उपचारका असरहरु रहे पनि शरीरमा थाइरोइड क्यान्सरका कुनै पनि अवशेष बाँकी नरहेको चिकित्सकले बताएका छन् ।
उपचार खर्चका लागि मुरारीले ‘गो फन्ड मी’ बाट सहयोगको आह्वान गरेका थिए ।

पाँच दिनभित्रै ७७ लाख सहयोग संकलन भएको थियो । ५० हजार डलर उठाउने सुरुवाति लक्ष्य रहेकोमा सोचेभन्द्या धेरै सहयोग आएपछि मुरारीले लक्ष्य बढाएर ७५ हजार डलर पुर्याएका थिए ।

प्रकाशित मिति: २९ कार्तिक २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्