कविता-चराहरुको देश


 


कृष्ण कट्टेलKrishna-Kattel

मैले सुनेको छैन
चराहरुलाइ हृदयघात भएको
मैले देखेको छैन
चराहरुको हष्पिटल
देखेको छैन मानिसहरुका जस्तै डरलाग्दो
चराहरुको घर ।

चराहरु भन्दैनन् तेरो मेरो
गर्दैनन् लुछाचुडी
छुट्याउदैनन् सिमाना र क्षेत्रफल
किनकी उसको आँखाले देखेजति मात्र
होइन उसको सपना
चरालाइ त जानुछ
उडेर कहा कहा ……………….

चराहरुको टोल हुदैन
शहर हुदैन
मानिसको जस्तो महँगोमा किनबेच हुने
माया हुदैन, घरबार हुदैन
उल्टै चमत्कार देखाइदिन्छन् चराहरु दुनियालाइ
सजिव मायाप्रेम गाँसेर
जसरी मयुरका जोडीहरु नाच्छन् बनमा
परेवा र ढुकुरका जोडीहरु
साउती मार्छन् एक अर्कामा
डाँफे मुनाल र धनेसहरु रमाउछन मिलेर ।

त्यसैले म
चराहरु हेरेर रमाउछु
मानिसले बनाएको कृतिम पहाड हेरेर होइन,
किनकी
चराहरुको उदार जीवनीबाट सिक्नुछ मानिसले
जीन्दगीका आयामहरु ।।

साहित्यसंसारबाट

प्रकाशित मिति: ३२ जेष्ठ २०७२, सोमबार

प्रतिक्रिया दिनुहोस्