विपिन जोशीलाई हमास समूहले बन्धक बनाएको पुष्टि


 


काठमाडौं । ७ अक्टोबर २०२३ मा दक्षिणी इजरायलमा भएको आक्रमणमा बेपत्ता भएका नेपाली विद्यार्थी विपिन जोशीलाई हमास समूहले बन्धक बनाएर लगेको पुष्टि भएको छ ।

इजरायलमा रहेको नेपाली दूतावासका अनुसार हमास समूहले इजरायलमा आक्रमण गरी बन्धक बनाएर गाजातर्फ लगेकाहरुमध्येमा जोशी पनि रहेका इजरायल डिफेन्स फोर्सका प्रवक्ताले जानकारी दिएका छन् ।

तर पनि जोशीको पछिल्लो अवस्थाबारे यकिन गर्न नसकिएको र खोजी गर्ने काम भइरहेको दूतावासले जनाएको छ । “विपिनको पछिल्लो अवस्थाबारे यकिन गर्न सकिएको छैन । हालसम्म पनि सम्पर्कविहीन नै रहेको र खोजी कार्य जारी रहेको छ,” दूतावासले विज्ञप्ति जारी गर्दै भनेको छ ।

जोशीको सकुशल उद्धारको माग गर्दै केही दिनअघि उनका आमाबुबाले परराष्ट्र मन्त्री एनपी साउदसँग भेट गरेका थिए ।

प्रकाशित मिति: ४ मंसिर २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्