भारतको विद्युत् निर्देशिका सच्याउन कूटनीतिक पहल : प्रधानमन्त्री


 


काठमाडौं, पुस १
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतले ल्याएको क्रस बोर्डर विद्युत् व्यापार निर्देशिकाले नेपालको विद्युत् निर्यातमा सिर्जना गरेको अवरोध हटाउन कूटनीतिक पहल भइरहेको बताएका छन् ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल ९इपान०ले राजधानीमा बिहीबार आयोजना गरिएको ऊर्जा सम्मेलनमा प्रधानमन्त्री प्रचण्डले निर्देशिकाले सिर्जना गरेको समस्या समाधान हुनेमा आफू आशावादी रहेको बताए । ‘दुई मुलुकबीच भएको विद्युत् व्यापार सम्झौताले नेपालमा ऊर्जा क्षेत्रको विकासका लागि आधार तयार गरेको छ, यसको सफल कार्यान्वयनका लागि आवश्यक उपाय अपनाउन सरकार प्रतिबद्ध छ,’ उनले भने, ‘तर, भारतले जारी गरेको निर्देशिकाले त्यसमा केही अवरोध ल्याएको छ, जसलाई हटाउन सरकारले कूटनीतिक रूपमा पहल सुरु गरिसकेको छ ।’

ऊर्जा क्षेत्रमा दीर्घकालीन लगानी सम्भावना तथा आपसी फाइदाका लागि मुद्दा सम्बोधन हुनेमा आशावादी रहेको पनि उनले बताए । भारतीय लगानीबाहेकका जलविद्युत् कम्पनीबाट विद्युत् आयात नियन्त्रित गर्ने गरी भारतले निर्देशिका ल्याएको छ । विद्युत् व्यापारलाई रणनीतिक, राष्ट्रिय र आर्थिक महत्वको मुद्दा बनाउँदै भारतले नेपाल, भुटान र बंगलादेशमा भारतीय कम्पनीले उत्पादन गरेको विद्युत् आयात गर्ने बाटो खुला गरेको छ, तर सम्बन्धित तथा तेस्रो देशका कम्पनीले उत्पादन गरेको बिजुली आयात रोकेको छ ।आजको नयाँ पत्रिकामा सामाचार छ ।

प्रकाशित मिति: १ पुस २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्