जाजरकोट भूकम्पमा झण्डै १५ हजार सेट पाठ्यपुस्तक पुरिए


 


काठमाडौं । गत कार्तिक १७ गतेको भूकम्पले झण्डै १५ हजार सेट पाठ्यपुस्तक पुरिएपछि पश्चिम रूकुम र जाजरकोटका १३ स्थानीय तहका विद्यालयमा अध्ययन गरिरहेका विद्यार्थीहरू पुस्तकविहीन हुन पुगेका छन् । विद्यालय भत्किएर त्रिपालमुनि पढाउन बाध्य ती विद्यालयहरूलाई १४ हजार ६ सय ५ सेट पाठ्यपुस्तक आवश्यक पर्नेभएको छ ।

कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको सहयोगमा शिक्षा तथा मानव स्रोत विकास केन्द्रले तयार पारेको तथ्याङ्कअनुसार कक्षा १ देखि १० सम्मका विद्यार्थीलाई उक्त संख्यामा पाठ्यपुस्तक आवश्यक देखिएको हो । ती पुस्तक कार्तिक १७ गते गएको भूकम्पले पुरिएका हुन् ।

केन्द्रले उपलब्ध गराएको तथ्याङ्कअनुसार रूकुम पश्चिमको ६ र जाजरकोटको ७ स्थानीय तहमा पाठ्यपुस्तक पुग्न सकेको छैन । रूकुम पश्चिमको आठबिसकोट, सानीभेरी, त्रिवेणी, चौरजहारी र बाफीकोटको स्थानीय तहका विद्यालयमा पाठ्यपुस्तक पुग्न नसकेको हो । त्यसै गरी जाजरकोटको जुनिचाँदे, कुशे, नलगाड, छेडागाड, शिवालय, भेरी र बारेकोट स्थानीय तहमा पुस्तक पुग्न सकेको छैन ।

तथ्याङ्कअनुसार ती स्थानीय तहमा कक्षा १ को १ हजार ९ सय १३, कक्षा २ मा १ हजार ७ सय ४९, कक्षा ३ मा १ हजार ७ सय ११, कक्षा ४ मा १ हजार ५ सय ४७, कक्षा ५ मा १ हजार ५ सय ६१, कक्षा ६ मा १ हजार ३ सय २९, कक्षा ७ मा १ हजार २ सय ८३, कक्षा ८ मा १ हजार १ सय ८७, कक्षा ९ मा १ हजार ४ सय २१ र कक्षा १० कक्षामा ९ सय ४ सेट पाठ्यपुस्तकको आवश्यक्ता छ । नेपाल समाचारपत्र दैनिकबाट

प्रकाशित मिति: ११ मंसिर २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्