गाजामा थप दुई दिन युद्धविराम लम्बियो : हमासले छाड्यो ६९ बन्दी, विपिन जोशी छुटेनन्


 


काठमाडौं । इजरायल र प्यालेस्टिनी इस्लामिक लडाकु समूह (हमास) बीच गाजामा जारी युद्धविराम थप दुई दिन लम्बिने भएको छ । यसअघि चार दिनका लागि युद्धविराम भएको थियो ।

यो समयावधि आज बिहान सकिएसँगै मध्यस्थकर्ता कतारले इजरायल र हमासबीचको युद्धविराम थप दुई दिन लम्बिने जनाएको छ ।

कतारी विदेश मन्त्रालयका प्रवक्ता माजेद अल अन्सारीले ट्विटरमा गाजापट्टीमा मानवीय युद्धविरामलाई थप दुई दिन लम्ब्याउने सहमति भएको उल्लेख गरेका छन् । चार दिने युद्धविरामको अन्तिम दिन हिजो हमासले ११ जना र आज बिहान इजरायलले थप ३३ प्यालेस्टिनी बन्दीलाई रिहा गरेको छ ।

इजरायलको जेलबाट रिहा हुनेहरुमा ३० बालबालिका र तीन जना महिला रहेका छन् । सम्झौता अन्तर्गत हमासले अहिलेसम्म कुल ६९ जना इजरायली बन्धकलाई रिहा गरेको छ । बदलामा इजरायलले आफ्नो जेलबाट १ सय ५० प्यालेस्टिनी बन्दीहरूलाई रिहा गरेको छ ।

चारदिने युद्धविरामको अन्तिम दिन पनि हमासको नियन्त्रणमा रहेका भनिएका नेपालका विपिन जोशी छुटेका छैनन् । सोमबारसम्म हमासले ६९ बन्दीलाई रिहा गरिसकेको छ । तर, विपिनको अवस्थाबारे अझै थाहा हुन सकेको छैन । उनी अक्टोर ७ मा हमासले गरेको आक्रमणपछि सम्पर्कविहीन भएका थिए ।

प्रकाशित मिति: १२ मंसिर २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्