टानद्वारा कार्ययोजना तर्जुमा गर्न गोष्ठीको आयोजना


 


काठमाडाैं, पुस १

ट्रेकिंग एजेन्सीज एसोसिएसन अफ नेपाल (टान) ले आफ्नो कार्यक्रमहरुको मुल्यांकन गर्न तथा नयाँ कार्यक्रमहरु तर्जुमा गर्न सदस्य कम्पनीहरुको उपस्थितिमा मंगलबार काठमान्डौमा ‘कार्यक्रम मुल्यांकन तथा कार्ययोजना तर्जुमा गोष्ठी’ आयोजना गर्यो ।

संघको ३८ औं बार्षिक साधारणसभाको पूर्वसन्ध्यमा आयोजना गरिएको उक्त कार्यक्रममा संघका पूर्व अध्यक्षहरु सुमन पाण्डे, दिपक महत, ज्योति अधिकारी तथा महेन्द्रसिंह थापा लगयात पूर्व पदाधिकारीहरु, टानका सदस्य तथा नेपाल पर्यटन बोर्डका कार्यकारिणी सदस्य कृष्ण अर्याल र पूर्णबहादुर कुँबर, टान सदस्य कम्पनीका प्रतिनिधिहरु साथै बर्तमान कार्यसमितिका पदाधिकारीहरु र सदस्यहरुको उपस्थिति थियो ।

कार्यक्रमको औचित्य प्रस्ट पार्दै टान अध्यक्ष चन्द्रप्रसाद रिजालले गोष्ठीको आयोजना बर्तमान कार्यसमितिले ल्याएका कार्यक्रमहरुको मुल्यांकनका साथै आगामी बर्षको लागि नयाँ कार्यक्रम तर्जुमा गर्न गरिएको बताउनुभयो । ‘टानका कार्यक्रमहरुमा सदस्य कम्पनीहरुको खासै उत्साहप्रद उपस्थिति हुन नसक्नु दुखद कुरो हो ।

सदस्य कम्पनीहरुले गल्ति औंल्याएर सुझाब सल्लाह नदिए टानलाइ चुस्त दुरुस्त बनाउन सकिन्न,’ रिजालले बताउनुभयो । टान कर्मचारी नियमावली र टान आर्थिक नियमावली टान सचिबालयलाइ प्रभावकारी र आर्थिक अनुशासन कायम गर्न ल्याउन लाएको बताउंदै, रिजालले यसको मस्यौदामा सुझाब-सल्लाह दिएर सहयोग गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा स्वागत मन्तब्य ब्यक्त गर्दै बरिष्ठ उपाध्यक्ष टासी लाक्पा शेर्पाले पर्यटन संघ-संस्थामा बढ्दो राजिनितिकरण दुखद भएको बताउनुभयो । शेर्पाले आफ्नो राजनैतिक पहुँचलाइ समग्र पर्यटन क्षेत्रको समस्या तथा चुनौतिहरु सामाधान गर्न प्रयोग गर्न सबैलाई आग्रह गर्नुभयो ।

‘हामीसंग प्रचुर पर्यटन सम्भावना छ, तर त्यसको उपभोग गर्न पूर्वाधार छैन । हाम्रा कार्यक्रमहरुलाई भाषणमा मात्र सिमिति नराखी कार्यान्वयनमा लान ढिलो भैसक्यो,” शेर्पाले बताउनुभयो । सबै संघ-संस्था मिलेर सरकारलाई सुझाब दिन र त्यसलाई कार्यान्वयन गर्न संयुक्त दबाब दिन उहाँले सुझाब दिनुभयो ।

कार्यक्रममा टान प्रथम उपाध्यक्ष तेजबहादुर गुरुङले बर्तमान कार्यसमितिले आफ्नो कार्यकालको पहिलो बर्षमा गरेको कार्यक्रम तथा गतिबिधि समेटेर प्रस्तुति दिनुभएको थियो ।

तेसैगरि पूर्व अध्यक्ष महेन्द्रसिंह थापाले टान कार्यसमितिले कुनै आग्रह-पूर्वाग्रह नराखी पुराना कार्यसमितिबाट भएका त्रुटिहरुलाई कमजोरीको रुपमा चित्रण नगरी त्यसलाई सच्याइ अघि बढ्न आग्रह गर्नुभयो ।

अर्का पूर्व अध्यक्ष ज्योति अधिकारिले बर्तमान कार्यसमितिले एकदमै खटेर काम गरेको भए तापनि सरकारको नेतृत्व र नीतिगत अस्थिरताले प्रतिफल प्रभावित भएको बताउनुभयो । “बाहिर बसेर आलोचना गर्न सजिलो छ, तर संस्थामा बसेर कार्यसम्पादन गर्न साह्रै गाह्रो छ ।

मिडियामा फोटो छापेर, पुरस्कार थापेको आधारमा मात्रै मुल्यांकन हुँदैन | ब्यबसायीहरुको पिडा गुनासाहरु कत्तिको सम्बोधन भएकाछन्, पदयात्रा क्षेत्र कत्तिको मार्यादित र ब्यबस्थित भएकाछन् त्यसका आधारमा मुल्यांकन गरिनुपर्छ,” उहाँले बताउनुभयो ।

सचिबालयको कामकारबाही प्रभावकारी बनाउन ‘हायर एण्ड फायर’ नीति ल्याउनुपर्ने बताउंदै अधिकारीले कार्यसम्पादन चित्त नबुझे कर्मचारी निकालेर योग्य कर्मचारी भर्ति गर्न कार्यसमिति तयार हुनुपर्ने बताउनुभयो ।
त्यस्तै पूर्व अध्यक्ष दिपक महतले बार्षिक साधारणसभा पुर्ब सदस्यहरुमाझ कार्ययोजना तर्जुमा गर्न यस्तो गोष्ठी आयोजना गरेर ऐतिहासिक काम गरेकामा कार्यसमितिको प्रशंसा गर्नुभयो । तर पुरानो कार्यक्रमलाई निरन्तरता दिएको तर नयाँ चिज शुरुवात गर्न नसकेकोमा उहाँले कार्यसमितिको आलोचना गर्नुभयो ।

टान कर्मचारीतन्त्रलाइ थप अधिकार दिएर कार्यसमिती र सदस्यहरुप्रति उत्तरदायी बनाउन उहाँले सुझाब दिनुभयो । कार्यक्रममा बोल्दै अर्थबाउन्ड एक्सपिडिसनका राजन सिंखडाले डोल्पो र उपल्लो मुस्तांगलाइ नियन्त्रित क्षेत्रका रुपमा राख्ने कुरालाई पुनर्विचार गर्न सरकारलाई टानले दबाब दिनुपर्ने बताउनुभयो ।

‘सडक सुबिधा पुगिसकेको उपल्लो मुस्तांगमा न्युनतम दश दिनको ब्यबस्था र कम्तिमा दुइ पर्यटक चाहिने ब्यबस्था अब्याबाहरिक भयो,’ सिंखडाले बताउनुभयो । अनाधिकृत पदयात्रा गतिबिधि निरुत्साहित गरि पदयात्रा प्याकेजहरुको न्युनतम मूल्य तोक्न ढिलो भैसकेको भन्दै सिंखडाले त्यसतर्फ पहल लिन टानलाइ आग्रह गर्नुभयो ।

त्यस्तै पूर्व महासचिब सागर पाण्डेले पर्यटन विकासको लागि सबै पर्यटन संघ-संस्था मिलेर रणनैतिक योजना बनाउन सरकारलाइ सघाउनुपर्ने बताउनुभयो । ‘तर त्यसको कार्यान्वयनको लागि निजिक्षेत्रले सरकारलाई बारम्बार झस्काउनुपर्छ,’ उहाँले बताउनुभयो ।

फर्स्ट इन्भाईरेन्मेन्टल ट्रेकिंगका ठाकुरराज पाण्डेले पूर्वाधार बिकासमा जोड दिनुपर्ने बताउनुभयो | ‘गाउँमा भूकम्प पछी सरकारी अनुदानमा नयाँ घरहरु भन्दैछन् । अलिकति अनुदान थपेर प्रत्येक घरमा कम्तिमा एउटा कोठा पर्यटक सुताउन मिल्ने खालको बनाए ६० लाख थप पर्यटकलाइ आवास सुबिधा दिनसकिन्छ ।

यसमा टानले सरकारलाइ सुझाब र आबश्यक परे दबाब देओस,’ पाण्डेले भन्नुभयो । त्यस्तै पूर्व बरिष्ठ अध्यक्ष केशब पाण्डेले व्यक्तिगत आग्रह-पुर्वाग्रहले टानलाइ घाटा पुग्ने भन्दै यस्तो कार्यलाई निरुत्साहित गरिनुपर्ने बताउनुभयो ।

‘नयाँ कार्यक्रम तर्जुमा गर्दा राजनैतिक आस्थाको आधारमा गुट-उपगुट को आधारमा नगर्नुस | टानको बृहत्तर हित हुने कार्यक्रम ल्याउनुस,’ पाण्डेले सुझाब दिनुभयो । टानका पुर्ब कोषाध्यक्ष अन्जन थापाले टिम्सको रकम के कारणले आउनसकेको छैन टानले सदस्य कम्पनीहरुलाई जानकारी गराउनुपर्ने बताउनुभयो ।

पर्यटन बोर्डले टिम्सकोषबाट गरिएको खर्चमा बेरुजु देखिएर टानको हिस्सा नदिएको सुन्नमा आएको बताउंदै थापाले यदि त्यसो हो भने बेरुजु सल्टाउन एउटा समिति बनाएर अघि बढ्न कार्यसमितिलाई आग्रह गर्नुभयो । मौसम पूर्वानुमान संयन्त्र जडान गरेर डिस्प्ले बोर्डमार्फत हाइपास नजिक देखाइने ब्यबस्था गर्न थापाले टानलाइ आग्रह गर्नुभयो ।

कार्यक्रममा पूर्व प्रथम उपाध्यक्ष बच्चुनारायण श्रेष्ठ, हिमा ट्रेक्सका प्रशान्त रेग्मी र सातोरी एडभेन्चरका ऋषि भण्डारी लगायतले आफ्नो धारणा राख्नुभएको थियो ।

कार्यक्रममा बोल्दै टान महासचिब कर्णबहादुर लामाले कार्यक्रममा आएका सुझाबहरुलाई टानको बार्षिक कार्यक्रममा राखि साधारण सभामा प्रस्तुत गरिने बताउनुभयो ।

कार्यक्रम समापन गर्दै टान कोषाध्यक्ष लिलाबल्दब दाहालले विश्व पर्यटन बजारमा बिबिसी, सीएनएन लगायत भारतीय तथा चिनियाँ टेलिभिजनमार्फत नेपालको पर्यटन प्रबर्द्धन गरिनुपर्ने बताउनुभयो ।

प्रकाशित मिति: १ पुस २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्