सुन्तलेका आगलागी पीडितलाई प्रवासी नेपालीको सहयोग


 


खोटाङ, पुस ७

आगलागीबाट विस्थापित बनेका सुन्तले गाविसका दुई घर मगर परिवारलाई प्रवासमा रहेका नेपालीले राहत रकम उपलब्ध गराएका छन् ।

प्रवासी युवाले आगलागीबाट घर सहित सबै सामग्री जलेर विस्थापित बनेका सुन्तले–८ का ललितबहादुर मगर र पदमबहादुर मगरको परिवारलाई रु ४६ हजार ९७५ राहत रकम उपलब्ध गराएका हुन् ।

वैदेशिक रोजगारीको सिलसिलामा मलेसियालगायत विभिन्न देशमा रहेका खोटाङे तथा गैर खोटाङे युवाले फेसबुकमार्फत समूह बनाएर सङ्कलन गरेको रकम प्रदान गरिएको मलेसियामा कार्यरत सुन्तलेका खविराज आलेमगरले बताउनुभयो ।

आगलागीबाट विस्थापित भएको खबर विभिन्न सञ्चारमाध्यमबाट सुनेपछि फेसबुक मार्फत समूह बनाएर रकम सङ्कलन गरेर आइएमइमार्फत पीडित परिवारलाई प्रदान गरिएको मगरले जानकारी दिनुभयो ।

आगलागीमा ललितबहादुरको रु १५ लाख ४८ हजार र पदमबहादुरको रु ११ लाख ८९ हजार बराबरको धनमाल क्षति भएको प्रहरीले जनाएको छ ।

यसअघि गत मङ्सिर १५ गते नेपाली काँग्रेसका जिल्ला महाधिवेशन प्रतिनिधि भूपेन्द्र राई नेतृत्वको टोलीले गाउँमै पुगेर राहत प्रदान गरेको थियो ।

प्रकाशित मिति: ७ पुस २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्