नेपालले मलेसियालाई दियो प्रतिस्पर्धात्मक लक्ष्य


 


काठमाडौं, फागुन ४ । एसीसी महिला प्रिमियर कपको सेमिफाइनलमा नेपालले मलेसियासामु १ सय १६ रनको प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गरेको छ ।

बायुमास ओभलमा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय १५ रन जोड्यो । नेपालले यो खेल जितेर प्रिमियर कपको फाइनलमा पुगेसँगै महिला एसिया कपमा पनि स्थान बनाउनेछ ।

नेपालका लागि कप्तान इन्दु वर्माले सर्वाधिक २९ रनको योगदान दिइन् । ओपनर कविता कुँवरले २३ तथा रुविना क्षेत्रीले २० रन जोडिन् । डली भट्टले १४ बलमा १ चौका र २ छक्कासहित २५ रनको योगदान दिइन् ।

चौथो ओभरमा सीता रानामगर आउट हुँदा नेपाल १०(१ को स्थितिमा थियो । त्यसपछि इन्दु र कविताले ३५ रनको साझेदारी गरे । रन लिने क्रममा समन्वय नहुँदा कविता रनआउट भएकी थिइन् ।

त्यसपछि रुविना र इन्दुले तेस्रो विकेटका लागि ३१ बलमा ३३ रन जोडे । रुविना २ चौका प्रहार गर्दै क्याच आउट भइन् । इन्दु १८ औं ओभरमा ठूलो सट खेल्ने धुनमा स्टम्प्ड आउट भएकी थिइन् ।

नेपालले पछिल्लो खेलबाट टोलीमा दुई परिवर्तन गरेको छ । स्पिनर संगीता राई र उपकप्तान विन्दु रावल टोलीमा आएका छन् । अश्मिना कर्माचार्य र पुजा महतोलाई बाहिर राखिएको छ ।

नेपालले सेमिफाइनल जिते फाइनलमा यूएईको सामना गर्नेछ । आज सम्पन्न निकै रोमान्चक सेमिफाइनलमा यूएईले ४ रनको जित दर्ता गर्दै प्रिमियर कपको फाइनलमा स्थान पक्का गरेको हो ।

मलेसियाको बायुमास ओभलमा यूएईले प्रस्तुत गरेको ७१ रनको लक्ष्य पछ्याउने क्रममा थाइल्याण्ड ६६ रनमा अलआउट भयो । यूएईले २० ओभरमा ७ विकेट गुमाएर ७० रन जोडेको थियो । जवाफमा ७१ रनको लक्ष्य पछ्याउँदा थाइल्याण्ड ७।५ ओभरमा १५(५ को दयनीय स्थितिमा पुगेको थियो ।

तर छैटौं विकेटका लागि ३५ रनको साझेदारी हुँदा टोली खेलमा फर्कियो । अन्तिम ३ ओभरमा जितका लागि १४ रन आवश्यक हुँदा २ विकेट बाँकी रहेपनि थाइल्याण्ड पराजित हुन पुग्यो ।

अन्तिम ओभरमा ६ रन चाहिएको अवस्थामा पहिलो बलमा १ रन जोडेपछि दोस्रो बलमा थाइल्याण्डले अन्तिम विकेट क्याच आउट हुँदै गुमायो । फाइनल पुग्ने दुई टोली एसिया कप पुग्ने हुँदा थाइल्याण्डले सेप्टेम्बरमा हुने उक्त प्रतियोगिता गुमाउने भएको छ ।

प्रकाशित मिति: ४ फाल्गुन २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्