आर्थिक चुनौतीकाबीच मोफसलमा पनि क्रिकेटप्रेमी सक्रिय


 


बेलबारी, फागुन ५ । बिहानै क्रिकेटप्रेमी ऐश्वर्यप्रसाद आचार्य (विपीन) स्थानीय युवासँग क्रिकेट खेल मैदानमा भेटिनुहुन्छ । भविष्यमा राष्ट्रिय टिममा रहेर खेल्ने चाहानाका साथ मोरङ बेलबारीका दुई दर्जनभन्दा बढी युवा विपिनसँगै बेलबारी–३ स्थित क्रिकेट एकेडेमी निर्माणमा जुटिरहेका छन् ।

पछिल्लो समय क्रिकेट खेलप्रति बालबालिकाका साथै युवाको आकर्षण बढ्दो पाइएपछि बेलबारी क्रिकेट क्लबले बेलबारी इन्डोर क्रिकेट एकेडेमी सञ्चालनमा ल्याएको क्लबका अध्यक्ष ऐश्वर्यप्रसाद आचार्य (विपिन) ले बताउनुभयो । उहाँका अनुसार जिल्ला सदरमुकाम विराटनगरभन्दा करिब २५ किमी टाढा मोफसलमा एकेडेमी सञ्चालनमा आएको हो ।

पर्याप्त आर्थिक अभावकाबीच बेलबारीमा एकेडेमी सञ्चालनमा ल्याइएको अध्यक्ष आचार्यले बताउनुभयो । यहाँस्थित भगवती माध्यमिक विद्यालयको पाँच कट्ठा जमिन भाडामा लिएर एकेडेमी निर्माण थालिएको उहाँले जानकारी दिनुभयो ।

स्थानीयस्तरमा क्रिकेटप्रेमीको बढ्दो सङ्ख्यालाई मध्यनजर गर्दै भविश्यमा आवाससहितको एकेडेमी सञ्चालनको लक्ष्य रहेको अध्यक्ष आचार्यले बताउनुभयो । राज्यका तिनै तहले खेलकुदमा पर्याप्त लगानी गर्न नसकीरहेको अवस्थामा स्थानीय स्रोतसाधनबाट मात्र एकेडेमी सञ्चालन गर्न निकै चुनौतीपूर्ण रहेको उहाँको भनाइ थियो ।

जिल्लाभर जम्मा छ वटा क्रिकेट एकेडेमी रहेका छन् । सोमध्ये चार सदरमुकाम विराटनगरमा रहेका जिल्ला क्रिकेट सङ्घका अध्यक्ष महोमद साद९बाबु० ले बताउनुभयो । उहाँका अनुसार महानगबाहिर कटाहरी गाउँपालिका र बेलबारी नगरपालिकामा मात्र एकेडेमी छन् ।

सङ्घको आयोजनामा विराटनगरको वैजनाथपुरस्थित स्व गिरिजाप्रसाद कोइराला क्रिकेट स्टेडियममा यही फागुन २२ गतेदेखि राष्ट्रिय टि–२० क्रिकेट पुरुष प्रतियोगिता हुने अध्यक्ष सादले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त प्रतियोगितामा सातवटै प्रदेशका एक÷एक, तीन विभागीय गरी १० टोलीको सहभागिता रहनेछ ।

जिल्लाबाट हाल राष्ट्रिय टिममा ललितनारायण राजवंशी र अण्डर–१९ को उपकप्तानमा दिपेश कणेल सहभागी हुनुहुन्छ । त्यसैगरी पूर्वराष्ट्रिय क्रिकेट खेलाडी सिद्धान्त लोहनी र राजकुमार प्रधान पनि मोरङबाटै हुनुहुन्छ ।

प्रकाशित मिति: ५ फाल्गुन २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्