क्यानडाले नेपाल ‘ए’ लाई दियो २४१ रनको बलियो लक्ष्य


 


काठमाडौं, फागुन ८ । एकदिवसीय सिरिजको दोस्रो खेलमा क्यानडा-११ ले नेपाल ‘ए’ लाई २ सय ४१ रनको बलियो लक्ष्य दिएको छ ।

मुलपानी क्रिकेट मैदानमा पहिलो ब्याटिङको निम्तो पाएको क्यानडा-११ ले निर्धारित ४९.५ ओभरमा अलआउट हुँदै २ सय ४० रन बनायो ।

श्रेयस मोभाले मध्यक्रममा उत्कृष्ट ब्याटिङ गर्दै ८२ बलमा ६८ रन जोडे । ५ चौका प्रहार गरेका उनी अन्तिम ओभरमा मिड अफमा क्याच आउट भएका थिए ।

मोभासँगै क्यानडाका लागि ओपनरद्वय आरोन जोन्सन र सृमन्थ विजयरत्नेसँगै नवनित धलिवलले राम्रो ब्याटिङ गरे । नेपालका लागि साहब आलमले ३ विकेट लिए । शेर मल्ल र राशीद खानले २(२ तथा सागर ढकाल र बसिर अहमंदले १-१ विकेट लिए ।

पहिलो विकेटको लागि ६४ रनको साझेदारी गरेपछि १२औं ओभरको तेस्रो बलमा आरोन जोन्सन आउट भए । उनी सागर ढकालको एलबीडब्लु धरापमा परे । जोन्सनले ३८ बल खेल्दै ५ चौका र १ छक्का प्रहार गरे । १५ औं ओभरको तेस्रो बलमा निकोलस किर्तन ७ रन जोड्दै साहब आलमको बलमा बोल्ड भए ।

विजयरत्नेले २१ रनमा रहँदा जीवनदान पाएका थिए । सागर ढकालले फालेको दशौं ओभरको पाँचौ बलमा कभरमा रहेका विवेक यादवले डाइभ दिँदै क्याच समाउन सकेनन् । उनी २० औं ओभरमा शेर मल्लको एलबीडब्लु धरापमा परे । उनले ५७ बलमा ६ चौकासहित ४६ रन बनाए ।

हर्ष ठाकर ८ रन जोड्दै बसिर अहमदको बलमा एलबीडब्लु आउट भए । त्यसबेला क्यानडा १०४(४ को स्थितिमा थियो । पाँचौ विकेटका लागि धलिवल र मोभाले ६६ रनको साझेदारी गरे । धलिवल ४६ रन जोड्दा साहबको बलमा बोल्ड हुँदा लगातार अर्धशतक बनाउनबाट चुके ।

कप्तान साद खाता नखोली शेर मल्लकै शिकार बने । निखिल दत्तले ८ र डिलोन हेलीगरले १६ रनको योगदान दिए ।

नेपाल ‘ए’ का कप्तान सन्दीप जोराले टस जितेर फिल्ड गर्ने निर्णय लिएका थिए । नियमित कप्तान विनोद भण्डारी बिरामी भएका कारण उपस्थित नहुँदा सन्दीपले कप्तानी गरिरहेका छन् ।

नेपाल ‘ए’ टोलीमा दुई परिवर्तन गरेको छ । विनोद भण्डारी र प्रतिश जिसीको स्थानमा शेर मल्ल र रिजन ढकाल आएका छन् । विनोद बिरामी परेका कारण मैदानमा आएका छैनन् । पहिलो खेलमा क्यानडाले ४ विकेटको जित दर्ता गरेको थियो ।

प्रकाशित मिति: ८ फाल्गुन २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्